विपक्ष दलहरुले भारतसँग सीमा सम्बन्धि प्रधानमन्त्री बालेन्द्र साहले दिएको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै संसदमा आएर माफी माग्न माग गरेका छन् ।
सोमवार प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलमा बसेको विपक्ष दलहरुको बैठकले प्रधानमन्त्रीले संसदमा नेपालको पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिनुभएको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै माफी माग्न प्रधानमन्त्री साहलाई सचेत गराउने निर्णय गरेको हो । प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकाले संसदमा आएर माफी माग्न माग गरिएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक निश्कल राईले बताउनु भयो । उहाँले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
सचेतक राईले भन्नुभयो,‘हिजो प्रधानमन्त्रीले जुन खालको अभिव्यक्ति दिनु भयो । त्यहाँ नेपालले भारतको भुमि अतिक्रमणनै गरेको भनेर जुन खालको अभिव्यक्ति । यो अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति छ । यो राष्ट्रघाती खालको अभिव्यक्ति छ । मिचेको होइन भने उहाँले संसदमा आएर त्यही गरिमामय रोष्टमबाट माफी माग्नुपर्दछ भन्ने हाम्रो आजको अडान हो । हामीले यस्ता खाला अभिव्यक्तिहरुले हाम्रो सार्वभौमिकतामा राम्रो गरिराखेको छैन । त्यसो भएको हुनाले उहाँले माफी माग्नुपर्दछ भन्ने हो ।’
त्यसैगरी विपक्ष दलहरुले सभामुख डोलप्रसाद अर्यालले संसदको नियमावली विपक्ष दलहरुलाई पेलेर पास गराएको भन्दै आपत्ति समेत जनाएको छ । विपक्ष दलहरुलाई पेलेर संसदको नियमावली पास गराउने सभामुख अर्यालको भूमिका दुःखद् भएको निष्कर्ष पनि बैठकले निकालेको एमाले संसदीय दलकी उपनेता पद्या अर्यालले बताउनु भयो ।
उहाँले भन्नुभयो,‘राष्ट्रियता जस्तो संवेदनशील विषयमा हामी सबैको चासोको विषय हो । तर जुन ढंगले संसद ठेलेर, पेलेर अगाडि बढाउने परिस्थिति बन्यो । त्यो राम्रो होइन । इतिहास हेर्नु भयो भने नेपालको इतिहासमा संसद परिचालन गर्ने नियमावली हामी सबैको साझा हो नि । सरकार कसैको हुन सक्छ । तर त्यो संसदमा भएको सबै सदस्यको अपनत्व हुने गरी नियमावली पास गर्नु पर्दथ्यो । हाम्रो कुरा त्यो थियो । तर सम्माननीय सभामुख महोदयले खै किन हो ? त्यो विषयमा एक पटक हामी छलफल गरेर कुरा गरेर वातावरण बनाउभन्नेतिर लाग्नु भएन । विगतमा पनि हाम्रा विमतिका विषयहरु हुन्थे । कहिले कसका हुन्थे, कहिले कसका हुन्थे । जसले नेतृत्व गरेको छ । त्यो दलले सहमती गरेर नै संसदको नियमावली सहमतीमा नै पास भएर आएको इतिहास हो । तर यस पटक विपक्षलाई नाराबाजीमा उतारेर पास गर्ने जे खालको कुरा भयो । यो धेरै दुखद कुरा हो । हामीेले यस विषयमा विश्लेषण गरेका छौ । सम्माननीय प्रधानमन्त्रीजीले सार्वभौम संसदमा आएर जुन खालको जवाफ दिँदै गर्दा जुन राष्ट्रघाती अभिव्यक्ति उहाँले दिनु भयो । त्यसले सिंगो नेपाल राष्ट्रको शीर झुकेको छ । हामी नेपालीहरुको स्वाभिमान कमजोर भएको छ । र, हामी सबैको शीर झुकेको छ । यो निन्दनीय कुरा नै छ । र, त्यसका प्रति राष्ट्रलाई शीरमा बोकेर राष्ट्रका मोटोलाई समातेर कसम खाएर सम्माननीय प्रधानमन्त्रीज्यूले आफना त्रुटीपूर्ण जुन खालका राष्ट्रघाती अभिव्यक्ति हो । त्यो क्षमायाचनासहित भन्ने निष्कर्ष प्रतिपक्ष दलहरुको छ । हामी त्यो कुरा संसदमार्फत प्रशारण गर्छौ । अव संसदमा त्यसको रेसपोन्स कसरी जान्छ ? त्यसको आधारमा भोलीका दिनमा हाम्रा कार्यक्रमहरु तय हुन्छ ।’
विपक्ष दलहरुले सभामुख अर्यालको भुमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् ।




