राष्ट्रपतिको उपस्थितिमा टुंडिखेलमा विशेष समारोह गरेर प्रजातन्त्र दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

राष्ट्रपतिको उपस्थितिमा टुंडिखेलमा विशेष समारोह गरेर प्रजातन्त्र दिवस मनाइयो

काठमाडौं, ७ फागुन । सरकारले विशेष समारोह गरेर प्रजातन्त्र दिवस मनाएको छ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा काठमाडौंको टुंडिखेलमा विशेष समारोह गरेर ६८ औं प्रजातन्त्र दिवस मनाएको हो ।

तर सरकारले गरेको कार्यक्रममा नयाँ कार्यक्रम भने केही गरिएन । परेवा उडाउने र पुष्पवृष्टि अनि मार्चपासका पुरानै कार्यक्रमलाई निरन्तरता दिएर दिवस मनाइएको छ । प्रजातन्त्र दिवस मनाउन गठित मूल समारोह समितिले एक साताको बीचमा दुई अध्यक्ष पायो । तयारीका लागि बैठक गर्दा समितिको अध्यक्षता शेरबहादुर देउवाले गरेका थिए । तर ६८ औं प्रजातन्त्र दिवसको अध्यक्षता भने केपी शर्मा ओलीले गरे ।

पाँच दिनअघि नयाँ सरकार गठन भएका कारण समितिले दुई अध्यक्ष पाएको हो । देउवाले गरेको तयारी अनुसार सोमबार ओलीले प्रजातन्त्र दिवस मनाउन काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गरे । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गर्यो ।

राष्ट्रपति भण्डारीका अलावा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश गोपाल पराजुली, सरकारका मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख लगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको कार्यक्रममा शान्तिको कामना गर्दै सेतो परेवा उडाइयो । कार्यक्रममा नेपाली सेनाले दुईवटा हेलिकप्टरबाट पुष्पवृष्टि गर्यो ।

विशिष्ट व्यक्तिका सामुन्ने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्चपासका साथै विभिन्न कौशल प्रदर्शन गरे । सुरक्षा निकायले गरेको कौशलमा राष्ट्रिय खेलकुद परिषद् अन्र्तगतका खेलाडीले पनि साथ दिए । काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानीय तहले सांस्कृतिक झाँकी प्रस्तुत गरे ।

प्रजातन्त्र दिवस मनाउन आयोजित कार्यक्रममा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गरेका शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरियो । त्यसवाहेक सहिदलाई सम्झने कुनै गतिविधि भएन । पुष्पवृष्टिदेखि परेवा उडाउने अनि मार्चपास र खेलाडीका कौशल पुरानै कार्यक्रम हुन् । सरकारले प्रजातन्त्र दिवसमा वर्षेनि पुरानै कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ । ६८ वर्षको अवधिमा प्रधानमन्त्री र मन्त्री अनि राष्ट्रप्रमुख फेरिएपनि कार्यक्रम भने कपी पेष्टमा सीमित भएको छ ।