काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामप्रति आंशका व्यक्त गर्नुभएको छ । शनिवार काठमाडौंमा अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले आशंका व्यक्त गर्नुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको दुई तिहाई निजक सिटलाई सुनामीको संज्ञा दिनुभयो । यसको पछाडिका कारणहरु अहिले खोजि भइरहेको उहाँको भनाइ छ । गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा सेनाको भुमिका कस्तो रह्यो ? सरकारको भुमिका कस्तो रह्यो ? निर्वाचन आयोगको भुमिका कस्तो रह्यो ? मतपत्रको अवस्था कस्तो रह्यो ? यी सबै कुराहरु एक दिन स्पष्ट हुने उहाँको विश्वास छ । निर्वाचनका दौरान सेना, सरकार र निर्वाचन आयोगको भुमिकाका साथै मतपत्रको अवस्थाका विषयमा प्रश्नहरू उठिरहेको उहाँको भनाइ छ ।
नेपालले वि.सं. २०४७ सालको संविधान निर्माणदेखि नै महिला र दलितको विशेष उपस्थितिलाई अनिवार्य गराउन आफूहरूले पहल गरेको उल्लेख गर्नुभयो । पछिल्लो निर्वाचन परिणामलाई एक अस्थायी ‘सुनामी’ को संज्ञा दिँदै अध्यक्ष नेपालले आफ्ना कार्यकर्ताहरूलाई विचलित नहुन आग्रह गर्नुभयो । उहाँले विपक्षीहरू आक्रामक देखिँदैमा आफ्ना साथीहरू टाउको लुकाएर भाग्नुपर्ने वा रक्षात्मक हुनुपर्ने स्थिति नरहेको बताउनु भयो । उहाँले अहिले निर्वाचित भएका नयाँ दलका प्रतिनिधिहरूलाई लक्षित गर्दै उनीहरूलाई मुलुकको परिवर्तन र अधिकार प्राप्तिको इतिहासबारे जानकारी नभएको टिप्पणी गर्नुभयो । विगतको योगदानको रक्षा गर्दै आगामी दिनमा दृढताका साथ अघि बढ्न उहाँले पार्टी पंक्तिलाई आह्वान गर्नुभयो ।





