काठमाडौं, ७ फागुन । जिल्ला सदरमुकाम जोड्ने पुल निर्माण नहुँदा पातारासी गाउँपालिकामा भएको एउटा एम्बुलेन्स पनि थन्किएको छ । एम्बुलेन्स प्रयोगमा नआएपछि स्थानीयहरु विरामीलाई डोकोमा बोकेर अस्पताल पुर्याउन बाध्य छन् ।
२०६६ सालमा जिल्ला सदरमुकाम खलंगादेखि उर्थु चौतारा जोड्ने सडक बनेको थियो । तर, सडकअन्तर्गत खलंगा जोड्ने पुल निर्माण नहुँदा पातारासी गाउँपालिकामा रहेको एउटा एम्बुलेन्स उर्थु चौतारा पारी नै थन्किएको छ । जसका कारण विरामीलाई उपलब्ध भएसम्म स्ट्रेचर नभए डोकोमा बोकेरै भएपनि खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म पुर्याउने गरेको स्थानीय बताउँछन् ।
कतिपय विरामीको अस्पताल पुर्याउन ढिला हुँदा बाटोमै मृत्यु हुने गरेको स्थानीय बताउँछन् । वर्षायाममा त खोला तर्नै नसक्ने गरी बढ्ने भएकाले उपचारको अभावमा ज्यान गुमाउनसमेत बाध्य छन् पातारासीबासी । त्यसैले जतिसक्दो चाँडो उर्थु चौताराको पुल निर्माण गर्न उनीहरुले स्थानीय सरकारसँग माग गरेका छन् ।
उपचारको अभावमा अकालमै मृत्युवरण गर्नुपर्ने बाध्यताबाट स्थानीय निर्वाचनपछि मुक्त हुने पातारासीबासीको अपेक्षा थियो । तर, अहिलेसम्म स्थानीय सरकारको अनुभूति गर्न नपाएको उनीहरुले गुनासो गरेका छन् । गाउँपालिकाले सबैभन्दा पहिले उर्थु चौताराको पुल निर्माण गरिदिए आफूहरु ठूलै समस्याबाट मुक्त हुने उनीहरु बताउँछन् ।