सरकारी बेवास्ता पछी लोप हुँदै 'कुस्ती' खेल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २७ २०८१, मंगलबार

सरकारी बेवास्ता पछी लोप हुँदै ‘कुस्ती’ खेल

मोहम्मद ईजहार शेष
नवलपरासी, ६ फागुन । सरकारले बेवास्ता गर्दा नेपालबाट कुस्ती खेल लोप हुने अवस्थामा पुगेको छ । तराई मधेसका युवा पुस्ताले खेलको संरक्षणमा तदारुकता देखाएपनि सरकारी तहबाट सहयोग नहुँदा कुस्ती खेल लोप हुने अवस्थामा पुगेको हो ।

कुस्ती खेल मनोरञ्जनसँगै स्वास्थ्यका लागि पनि उत्तम मानिन्छ । खासगरी तराई–मधेसमा कुस्ती निकै रुचाइने खेलमध्ये पर्छ । त्यसैले पनि स्थानीय युवाको सक्रियतामा अहिलेसम्म कुस्ती खेल जेनतेन चलेको छ । नवलपरासीका विभिन स्थानमा कुस्ती प्रतियोगिता आयोजना गरी स्थानीयले यस खेलको प्रवद्र्धनमा विशेष सक्रियता देखाएका छन् । तर, राज्यस्तरबाट कुस्तीको संरक्षण तथा प्रवद्र्धनमा कुनै चासो नदेखाएकाले कालान्तरमा यो खेल लोप भएर जाने चिन्तामा छन्, कुस्तीप्रेमी ।

नवलपरासी पहलवानहरुका लागि उर्वर जिल्ला मानिन्छ । यहाँ अन्तर्राष्टियस्तरका पहलवानहरु छन् । तर, सरकारले प्राथमिकतामा नराख्दा कुस्ती खेलाडी स्वदेशमा टिक्न सकेका छैनन् । अन्तर्राष्ट्रिय स्तरमा आफूलाई परिचित गराउन सफल पहलवान केशवदाश अहिले भारततिर बस्नुहुन्छ । त्यहाँ नेपालसहित भारतका तमाम पहलवानहरुलाई प्रशिक्षण दिने काममा उहाँ व्यस्त हुनुहुन्छ । नवलपरासीका ख्यातिप्राप्त कतिपय पहलवानहरु पनि विदेशिएका छन् । कुस्ती खेल र खेलाडी राज्यको नजरमा नपरेकाले नयाँ खेलाडी पनि कुस्तीप्रति आकर्षित भएका छैनन् ।

अहिलेसम्म स्थानीय प्रतियोगिताबाट पाउने पुरस्कार नै व्यवसायीक पहलवानहरुको आम्दानीको स्रोत हो । नवलपरासीको ठाडीघाट मेला, रामग्रामको परासी, प्रतापपुरको पिपरपातीलगायतका स्थानमा वर्षेनी आयोजना हुने कुस्ती प्रतियोगितामा अधिकांस भारतीय पहलवानहरुको सहभागिता हुने गरेको छ । खेलाडीहरुका लागि अखाडा, खानपान, प्रशिक्षण र आर्थिक सुबिधाको आभावका कारण यस खेलप्रति नेपालका पहलवानहरु आकर्षित हुन नसकेको नवलपरासीका पूर्व पहलवान रामभवन यादवको बुझाई छ ।

कुनै बेला तराईका गाउँ–गाउँमा अखाडा बनाएर कुस्ती खेलिन्थ्यो । कतिपय गाउँमा आज पनि कुस्ती खेल्ने र खेलाउन चलन छ । तर, सरकारले यसको संरक्षणमा चासो नदेखाउँदा धेरैलाई मन पर्ने र रोमान्चक हुँदाहुँदै पनि नेपालबाट कुस्ती खेल हराउँदै गएको छ । सरकारले कुस्तीलाई प्रोत्साहित गरे अझै पनि यो खेलको लोकप्रियता जोगाउन सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);