संघीयता कार्यान्वयनपछि गाउँघरमा चहल–पहल | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८१, मंगलबार

संघीयता कार्यान्वयनपछि गाउँघरमा चहल–पहल

मदन बिक
बाजुरा, ६ फागुन
। संघीयता कार्यान्यनपछि विभिन्न जिल्ला सदरमुकामभन्दा गाउँघरमा चहल–पहल बढेको छ । मुलुक नयाँ संरचनामा गएसँगै साविकको जिल्ला विकास समिति समन्वय समितिका रूपमा परिणत भएपछि जिल्ला सदरमुकाम भने सुनसानजस्तै भएका छन् । यसबाट सानो कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यतामा रहेका गाउँबासी दंग छन् भने सदरमुकाम सुनसान भएसँगै व्यापार व्यवसायमा धक्का लागेपछि व्यापारी भने चिन्तित छन् ।

नौ वटा स्थानीय तहमध्ये ४ नगरपालिका र ५ गाउँपालिका रहेको बाजुरा सदरमुकाम पछिल्लो समय सुनसानजस्तै छ । प्रशासनिक कामहरु स्थानीय तहमै हुन थालेपछि सदरमुकाम मार्तडी सुनसान बनेको हो । सिंहदरबारको अधिकार गाउँ–गाउँ पुगेपछि सेवाग्राही दंग छन् । तर, सदरमुकाम सुनसान हुँदा व्यापारी भने उदास छन् । दिनहुँ राम्रो आम्दानी भइरहेको व्यापार निर्वाचनपछि भने निराशाजनक रहेको व्यापारी बताउँछन् ।

यता, सरोकारवालाले भने सदरमुकाम सुनसान भएकोप्रति व्यापारीले चिन्ता लिनुको सट्टा मानिसको आगमन बढाउन अन्य उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । बडीमालिका नगरपालिकाका मेयर पदम बडुवाल सदरमुकाममा आगन्तुक बढाउन पर्यटन, जलविद्युत, व्यापारलगायतका क्षेत्रलाई विस्तार गर्न पहल गर्नुपर्ने बताउँछन् ।

सदरमुकाम मार्तडीमा जग्गाको मूल्यमा समेत गिरावट आएको छ । स्थानीय तहको निर्वाचनपछि अस्थायीबासी आफ्नै गाउँ फर्किन थालेसँगै कोठा भाडामा बस्नेको संख्या पनि घटेको छ । बाजुरा सदरमुकाम मार्तडीले पर्यटनको प्रचुर सम्भावना बोकेको छ । स्थानीय तहले पर्यटन र जलविद्युत क्षेत्रमा विकास गरेर भएपनि आगन्तुक बढाउनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);