कङ्गोमा इबोलाको प्रकोपबाट ८७ जनाको मृत्यु, नयाँ प्रजातिका लागि खोप नहुँदा जोखिम बढ्यो | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

कङ्गोमा इबोलाको प्रकोपबाट ८७ जनाको मृत्यु, नयाँ प्रजातिका लागि खोप नहुँदा जोखिम बढ्यो

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोलाको पछिल्लो प्रकोपका कारण ८७ जनाको मृत्यु भएको छ । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शनिबार दिएको जानकारी अनुसार यो प्रकोप ‘बुन्डिबुग्यो’ नामक प्रजातिका कारण फैलिएको हो, जसका लागि हालसम्म कुनै निश्चित खोप उपलब्ध छैन । अफ्रिका सीडीसीका महानिर्देशक जिन कासेयाले एक अनलाइन पत्रकार सम्मेलनमा बताए अनुसार पूर्वी कङ्गोको इटुरी प्रान्तमा हालसम्म ३३६ जनामा संक्रमणको शंका वा पुष्टि भएको छ । सन् १९७६ यता कङ्गोमा इबोला देखिएको यो १७ औँ पटक हो । कासेयाकाअनुसार बुन्डिबुग्यो प्रजाति इतिहासमा तेस्रो पटक मात्र पहिचान गरिएको हो र यसको कुनै प्रमाणित खोप उपलब्ध छैन । कङ्गोका स्वास्थ्य मन्त्री रोजर काम्बाले यस प्रजातिको मृत्युदर ५० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिनुभएको छ । स्वास्थ्य मन्त्रीकाअनुसार यस प्रजातिका लक्षणहरू अन्य प्रजातिभन्दा केही फरक छन् । यसमा शुरुमा ज्वरो आउने र पछिल्लो चरणमा मात्र रक्तश्राव हुने लक्षण देखिन्छ । अधिकारीहरूले ज्वरो, बान्ता, थकान वा रक्तश्राव जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेका छन् । यो संक्रमण खानी क्षेत्र र व्यावसायिक केन्द्रहरूमा फैलिएकाले नियन्त्रणमा कठिनाइ भइरहेको छ । विशेष गरी मोङ्गवालु खानी क्षेत्रमा मानिसहरूको आवतजावत बढी हुने भएकाले छिमेकी प्रान्तहरू र सीमावर्ती मुलुकहरू युगाण्डा र दक्षिण सुडानमा समेत जोखिम बढेको छ । युगान्डामा कङ्गोबाट आएका एक ५९ वर्षीय पुरुषको बुन्डिबुग्यो प्रजातिकै कारण मृत्यु भइसकेको पुष्टि भएको छ । अफ्रिका सीडीसीले यस प्रकोपलाई ‘ग्रेड–३’ स्तरको जोखिममा वर्गीकरण गरेको छ । कङ्गोमा यसको जोखिम ‘अत्यधिक’ रहेको र पूर्वी अफ्रिकामा ’उच्च’ रहेको जनाइएको छ । अप्रिल महिनादेखि नै शुरु भएको यो प्रकोपको पहिलो संक्रमित (इन्डेक्स केस) अझै पहिचान हुन नसकेकाले संक्रमणको वास्तविक भयावहता आकलन गर्न कठिन भएको अधिकारीहरूले बताएका छन् । इबोला भाइरस अत्यधिक संक्रामक मानिन्छ, जसले उच्च ज्वरो, बान्ता, झाडापखाला र गम्भीर अवस्थामा शरीरका भित्री तथा बाहिरी अंगबाट रक्तश्राव गराउँदछ । विश्व स्वास्थ्य संगठनका अनुसार भाइरसको प्रजातिअनुसार इबोलाको मृत्युदर फरक–फरक हुने गर्दछ ।

Leave a Reply

ताजा समाचार