जनताको घरटहरामा डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८३, आइतबार

जनताको घरटहरामा डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी

बुटवलका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले आफूहरू बसोवास गरिरहेकै स्थानमा तत्काल लालपूर्जाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् ।
रुपन्देहीको बुटवलमा आयोजित प्रदर्शनका क्रममा उनीहरुले यस्तो माग गरेका हुन् । जनताको घरटहरामा डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी दिएका हुन् ।सरकारको ध्यान महँगी नियन्त्रण र सीमा रक्षातर्फ नभई गरिबका घरटहरा भत्काउनेतर्फ केन्द्रित भएको आरोप लगाए । दैनिक १५ सयभन्दा बढी युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको र बाकसमा लास फर्कने क्रम नरोकिएको उल्लेख गर्दै उनीहरूले सरकार जनसरोकारका मुद्दामा अनुदार बनेको बताए । आफ्ना मागहरू प्रश्तुत गर्दै आन्दोलनकारीले ७० हजार हेक्टरभन्दा बढी नेपाली भूमि हडपिँदा सरकार मौन बसेको तर आफ्नै नागरिकमाथि डोजर आतङ्क सिर्जना गरेको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले राष्ट्रियस्तरको आन्दोलनको तयारी स्वरूप ७ बुँदे मागपत्र समेत अघि सारेका छन् । भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई उनीहरू हाल बसिरहेकै स्थानमा लालपूर्जाको व्यवस्था गरिनुपर्ने, बसोवासयोग्य जमिनका लागि १० प्रतिशत र कृषियोग्य जमिनका लागि ५ प्रतिशत मात्र करको दायरा कायम गरी जग्गा धनीपूर्जा वितरण गरिनुपर्ने,  भूमिहीन दलितहरूका लागि निःशुल्क लालपूर्जाको ग्यारेन्टी गरिनुपर्ने, विकासका नाममा जनतालाई विस्थापित गर्दा उचित क्षतिपूर्ति र सोही स्थानीय तहभित्र सुविधासम्पन्न स्थानमा पुनःस्थापना गरिनुपर्ने माग राखेका छन् । लोकप्रियतवादका नाममा कानुनविपरित नागरिकलाई दुःख दिने काम भए इतिहासमा हिट्लर र सिक्किमका लेन्डुप दोर्जेको जस्तै पतन हुने उनीहरूको चेतावनी छ । तिनाउ–दानव कोरिडोर लगायतका आयोजनाका नाममा जनतालाई अन्यत्र सार्ने प्रयास भइरहेको भन्दै उनीहरूले रोजगारी र स्वास्थ्यको ग्यारेन्टी नभएको स्थानमा ‘होल्डिङ सेन्टर’ जस्तो गरी बस्न नसकिने स्पष्ट पारेका छन् । आफूहरूलाई अपराधी जस्तो व्यवहार नगर्न आग्रह गर्दै उनीहरूले माग सम्बोधन नभए देशभर सशक्त आन्दोलन छेड्ने घोषणा गरेका छन् ।

Leave a Reply

ताजा समाचार