नेवार समुदायका परम्परागत मुकुन्डोनाच र जीवित इतिहास समेटिएको वृहत् ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ सार्वजनिक गरिएको छ ।
वरिष्ठ नृत्यशास्त्री एवं अनुसन्धाता वीणा जोशी (राजभण्डारी) द्वारा लिखित यो ग्रन्थमा नेवार समुदायमा प्रचलित मुकुण्डोनाचको तान्त्रिक पृष्ठभूमि, सांस्कृतिक आयाम र सिङ्गो नेपालकै ऐतिहासिक पक्ष समेटिएको छ । लामो समयको खोज–अनुसन्धानपछि तयार भएको यो ग्रन्थ नेपाली संस्कृति, इतिहास र नृत्य जगत्का लागि एउटा दुर्लभ र महत्वपूर्ण दस्ताबेज मानिएको छ । ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ आईतवार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच परम्परागत गुरुहरूबाट लोकार्पण गरिएको हो । लोकार्पणको समयमा सहनाई वादन, आरतीसहित मुकुण्डोनाचका केही झाँकीहरू पनि प्रदर्शन गरिएको थियो । काठमाडौं लगायत मुलुकका विभिन्न स्थानका नेवार समुदायले मनाउँदै आएका जात्रा, चाडपर्व र नाच्तै आएका मुकुण्डोनाचहरूको विस्तृत दस्ताबेजसहित तयार पारिएको ऐतिहासिक वृृहत अनुसन्धानमूलक ग्रन्थ नेवार समुदायसहित सांस्कृतिक अध्येयताहरूका लागि महत्त्वपूर्ण अध्ययन सामग्री बन्ने विश्वास गरिएको छ ।
‘नाच केवल मनोरञ्जन होइन, समुदायको नलेखिएको जीवित इतिहास हो’ः लेखिका वीणा जोशी
पुस्तक सार्वजनिक भएसँगै न्युज एजेन्सी नेपालका संवाददातासँग कुराकानी गर्दै लेखिकाले ग्रन्थको सिर्जनप्रक्रिया, यसको प्राविधिक विशिष्टता र यसले बोकेको ऐतिहासिक महत्वबारे विस्तृत चर्चा गर्नुभएको छ । कुनै समय राष्ट्रिय नाचघरमा नृत्य निर्देशक तथा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूमा अनुसन्धानकर्ताका रूपमा कार्य गरिसक्नुभएकी लेखिका वीणा जोशीकाअनुसार हाम्रो समाजमा नृत्यलाई हेरुन्जेल हेर्ने र त्यकपछि बिर्सने सामान्य मनोरञ्जनका रूपमा मात्र लिने गरिन्छ । तर परम्परागत र सांस्कृतिक नाचहरूका पछाडि एउटा गहिरो इतिहास लुकेको हुन्छ ।
“हामी जुन परम्परागत नाचको कुरा गरिरहेका छौँ, त्यो कुनै न कुनै कम्युनिटी (समुदाय) को इतिहाससँग जोडिएको हुन्छ”, लेखिका जोशीले भन्नुभयो, “त्यो नाच कुन वातावरणमा सिर्जना भयो ? त्यो समुदाय कस्तो सामाजिक, आर्थिक र भौगोलिक पृष्ठभूमिबाट सुरु भयो ? उनीहरूको धार्मिक आस्था के थियो ? यी सबै कुरा नाचमा प्रतिबिम्बित हुन्छन् । त्यसैले नाच भनेको समुदायको नलेखिएको जीवित इतिहास हो ।”
विभिन्न ऐतिहासिक पृष्ठभुमिबाट उत्पन्न भएका नाचहरू परम्परागत संस्कृति मात्र नभएर वैज्ञानिक रूपमा जीवन र जगत्सग प्रत्यक्ष जोडिएको हुनाले यसको जगेर्ना गर्दै नयाँ पुस्तालाई जानकारी गराउनु आवश्यक रहेको बताउनु भयो ।
उहाँले चिन्ता व्यक्त गर्दै थप्नुभयो, “यदि एउटा परम्परागत नाच म¥यो भने त्यस समुदायको इतिहासको एउटा ठूलो अङ्ग सधैँका लागि भङ्ग हुन्छ । हिजोआज धेरै नाचहरू लोप हुने अवस्थामा पुगेका छन् । कमसेकम यसलाई इतिहास र सिद्धान्त (थ्योरी) का रूपमा प्रिजर्भ (संरक्षण) गर्न सकियो भने भोलिका पुस्ताले आफ्नो कल्चर र पहिचान रियलाइज गर्न पाउनेछन् ।”
मनमा पुस्तक लेख्ने बत्ती कहिल्यै निभेन
लामो समय नृत्य अध्ययन–अनुसन्धानमा बिताएकी लेखिकालाई ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ तयार पार्न झन्डै ३० वर्ष लाग्यो । ‘तन्त्रविद्यासँग जोडिएको साधना र तिनका गुह्य पक्ष महिलालाई बताउन हुँदैन’ भन्ने परम्परागत मान्यता र सोचका कारण पनि परम्परागत नाचका ऐतिहासिक र सांस्कृतिक पक्षहरूको खोजलाई बिलम्ब गराएको लेखिका बताउनु हुन्छ । सम्बन्धित नाचका गुरुहरूको विश्वास जितेर ऐतिहासिक पक्ष खोतल्नु कम चुनौतीपूर्ण थिएन । एउटै नाचको जानकारी लिन धेरै जनासँग र पटकपटक भेट्नुपरेको अनुभव उहाँले सुनाउनु भयो । काठमाडौंमा डेराको दैनिकी, डेरा सर्दा र विभिन्न प्राविधिक कारणले पाण्डुलिपि हराउने समस्याले पनि उहाँलाई दुख दियो । ग्रन्थलाई अन्तिम रूप दिएपछि सम्पादनका लागि पनि चोरी हुने वा अरूले विचार चोरेर छापिदिनेजस्ता अनेकौँ जोखिमका कारण समय लाग्यो । तर, उहाँभित्र पुस्तक लेख्नुपर्छ भन्ने हुटहुटी जागिरह्यो । जोशी भन्नुहुन्छ, “जति नै समस्या परे पनि मनमा पुस्तक लेख्ने ‘बत्ती’ कहिल्यै निभेन ।”
धेरै मेहनत गरेर नेवार समुदायको ऐतिहासिक धरातलको चिरफार गरी तयार पारिएको ग्रन्थ भएकाले रामायण र महाभारतजस्तै घरघरमा सङ्ग्र्रह गरियोस् भन्ने उहाँको चाहना छ ।
जोशी भन्नुहुन्छ, “धेरैले ससानो किताब बनाउँछन्, जुन मानिसले पढ्छन् र पछि डस्टबिनमा फाल्छन् । मचाहिँ मेरो किताव कसैले फालोस् भन्ने चाहन्नँ । यो यति मोटो र बृहत् छ कि कसैले यसलाई फाल्ने हिम्मत पनि गर्दैन । जसले लिन्छ, उसले घरमा रामायण, महाभारतजस्तै आदरका साथ राखोस्, यो एउटा धार्मिक ग्रन्थजस्तै सुरक्षित रहोस् भन्ने मेरो चाहना हो ।”
अष्टमातृका र तन्त्रसाधनामा आधारित मुकुण्डोनाच
पुस्तकमा नेवार समुदायमा प्रचलित मुकुण्डो (मास्क) नाचहरूको सुक्ष्म विश्लेषण गरिएको छ । नेवार समुदायका प्रायः सबै रिचुअल (धार्मिक÷सांस्कृतिक) नाचहरू मुकुन्डो लगाएर नाचिन्छन् । यसका पछाडि गहिरो तान्त्रिक मान्यता रहेको जोशीले स्पष्ट पार्नुभयो ।
तन्त्रसाधनाकाअनुसार नाच एउटा ध्यान (मेडिटेसन) हो, जसको माध्यमबाट देवतालाई साकार र जीवित रूप दिइन्छ । लामो पूजा, वाद्यवादन र साधनापछि जब नृत्यकारले व्रह्मायणी, भद्रकाली वा अन्य देवीदेवताको मुकुण्डो लगाउँछ, तब उसको शरीरमा साक्षात् सोही देवताको शक्ति प्रवेश गर्छ भन्ने जनविश्वास र परम्परा रहेको छ ।
नेवार समुदायका मुकुण्डोनाचहरू मुख्यतः अष्टमातृका (आठ देवी) मा निर्भर छन् । तन्त्रको भेद र शास्त्रअनुसार कतै आठै जना, कतै सात जना, कतै पाँच जना कतै तीन जना पात्रहरू नाच्छन् । कुनै नाचमा ब्रह्मायणी मुख्य हुन्छिन् भने कतै काली वा इन्द्रायणी । यसले प्राचीन कालमा कुन इलाकामा कुन तान्त्रिक सम्प्रदायको प्रभाव थियो भन्ने कुरा प्रमाणित गर्छ, जसको लिखित इतिहास कतै भेटिँदैन ।
महिला भएकै कारण विश्वास जित्न चुनौती
काठमाडौंकी रैथाने भएर पनि आफूलाई ‘मधेसी नेवार’ का रूपमा चिनाउन रुचाउने जोशीका लागि यो तान्त्रिक ज्ञानसहितको जानकारकी सङ्कलन गर्नु फलामको च्युरा चपाउनुसरह थियो । तन्त्रविद्या गोप्य राखिने र त्यसमा पनि कतिपय अवस्थामा महिलालाई दीक्षा नदिइने, केही नबताउने सामाजिक बन्देज थियो ।
तर उहाँले आफ्ना गुरु सप्तमुनि वज्राचार्यको सहयोगमा काठमाडौं उपत्यकाका परम्परागत नाचगुरु, बाजागुरु र तन्त्राचार्यहरूलाई भेट्ने र उनीहरूको विश्वास जित्ने मौका पाउनुभयो, जसले यो ग्रन्थको मुख्य जग बसायो ।
सम्पादनको चुनौती ः सत्र खण्डको योजनामा कसरी बन्यो एउटै महाग्रन्थ ?
ग्रन्थका सम्पादक होम भट्टराईकाअनुसार यो कृति बजारमा आउनु आफैमा एउटा ठूलो चुनौती र उपलब्धि हो । पुस्तक धेरै मोटो र विस्तृत भएकाले शुरुमा यसलाई सजिलोका लागि छुट्टाछुट्टै कितावका रूपमा प्रकाशन गर्ने कि भन्ने योजना पनि बनाइएको थियो ।
“तर मैले विगतको एउटा अनुभव सम्झिएँ”, सम्पादक भट्टराईले भन्नुभयो, “विगतमा कृषिसम्बन्धी पुस्तक प्रकाशनको सिलसिलामा ‘ठूलो भएकाले टुक्राटुक्रा गरेर निकालौँ’ भन्ने मेरो प्रस्तावमा डा. फणिन्द्रप्रसाद न्यौपानेले ‘नाइँ, टुक्रा पारियो भने यसको महत्व घट्छ’ भनेर एउटै बृहत् ग्रन्थ बनाउन सिफारिस गर्नुभएको थियो, जसले पछि मदन पुरस्कारसमेत पायो । यदि त्यो टुक्रिएको भए त्यसको गरिमा रहँदैनथ्यो । त्यही निष्कर्षका आधारमा हामीले यो मुकुन्डोनाचको सम्पूर्ण सङ्ग्रहलाई एउटै वृहत ग्रन्थ निर्माण गर्ने निर्णय ग¥यौँ ।”
बजारमा उपलब्ध अन्य सांस्कृतिक पुस्तकहरूभन्दा प्रश्तुत ग्रन्थको प्राविधिक र शास्त्रीय विशिष्टता गहन एवं महत्वपूर्ण रहेको सम्पादक भट्टाईको विश्वास छ— “बजारमा पाइने यस क्षेत्रका पुस्तकमा कि इतिहास हुन्छ कि त प्रविधि पक्ष । तर, यस ग्रन्थमा मुकुन्डोनाचको ऐतिहासिक पक्ष मात्र होइन, यसको प्रविधि, प्रश्तुति, पूजा विधि, नाचमा संलग्न सामाजिक पात्रहरूको जिम्मेवारी, गुठीको व्यवस्थापन लगायत सम्पूर्ण पक्ष समेटिएको छ । त्यसैले यो नेवार समुदायका मुकुण्डोनाचहरूको सर्वाङ्गीण विश्लेषणसहितको ग्रन्थ हो ।”
अर्धतान्त्रिक पद्धतिमा रहेका मुकुण्डोनाच प्रमुखतः शास्त्रीयतामा आधारित छन् । त्यसैले यसको प्रमुख आधार भरतमुनिको ‘नाट्यशास्त्र’ देखिन्छ । सम्पादककाअनुसार लेखिकाले लामो समयसम्म विभिन्न नाचहरूको प्रत्यक्ष अवलोकन, निरीक्षण गरी पात्रहरूका आङ्गिक अभिनय (टाउको, आँखा, कम्मर, हात, गोडा आदि शरीरका अङ्गहरूको प्रश्तुति), सात्विक अभिनय (भावभङ्गी), वाचिक अभिनय (बोली÷संवाद), आहार्य अभिनय (नेपथ्य, साजसज्जा, गरगहना, वातारण), हस्तमुद्रा आदिको एकएक गरी शास्त्रीय विश्लेषण गर्नुभएको छ ।
नेवार भाषा र संस्कृति उपत्यकाभित्रै पनि काठमाडौँ, ललितपुर, भक्तपुर र उपत्यकाबाहिर झन्डै फरक स्वरूपमा पाइन्छ । शब्द चयन, वाक्य संरचना, विषयवस्तुको ऐतिहासिक सत्यापनका लागि विभिन्न पुराना थ्यासफु (हस्तलिखित ग्रन्थ) हरूको समेत आधार लिइएको । यसप्रकार ग्रन्थभित्रका विषयवस्तुसँगै सम्पादनका क्रममा पनि थप अनुसन्धान भएको छ ।
यो ग्रन्थ केवल पढ्नका लागि मात्र नभई एउटा पूर्ण ‘प्राविधिक गाइडबुक’ भएको सम्पादक भट्टराई बताउनु हुन्छ । यदि भविष्यमा नेवार समुदायको कुनै मुकुण्डोनाच रोकियो वा बन्द भयो वा लोप भयो भने पनि लामो समयपछि यस पुस्तकमा तिनको पूजाविधि, नाचका चाल र बाजाका तालसमेत ऐतिहासिकता लिपिवद्ध गरिएकाले नयाँ पुस्ताले यसकै आधारमा नाचलाई पुनः जीवित गराउन सक्ने उहाँ बताउनु हुन्छ ।
यो ग्रन्थ नेवार समुदायको मात्र नभई सिङ्गो देशको सम्पती भएकाले नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसको अपनत्व लिनुपर्ने तर्क सम्पादक भट्टाईको छ ।
आफ्नै आर्थिक र सामाजिक व्यस्तताका बीच, अनेकौँ पारिवारिक जिम्मेवारी पूरा गर्दै महिला अनुसन्धाताले देशकै संस्कृति जोगाउन गरेको यो योगदान इतिहासमा स्वर्ण अक्षरले लेखिने विश्वास गरिएको छ ।
यस पुस्तकमा १७ खण्ड छन् । अगिल्ला चार खण्ड सैद्धान्तिक हुन् भने पाँचौँदेखि सत्रौँ खण्ड प्रायोगिक छन् । देशको सांस्कृतिक इतिहासदेखि नेवार समुदायका परम्परा, रहनसहन, चाडपर्व, जात्रा, संस्कार, संस्कृति, पात्रत्व, रङ्गभूमि आदिबारे सैद्धान्तिक खण्डमा विश्लेषण गरिएको छ । रङ्गमञ्च वा रङ्गभूमि, नाचका पूजा, प्रविधि, प्रश्तुति, पात्र, जातीय संलग्नता र जिम्मेवारी, वाद्यवादन, सामाजिक र आर्थिकसहित सबै मुकुण्डोनाचको निष्कर्ष प्रश्तुत भएको छ ।




