अजितकुमार झा
सुनसरी, ५ फागुन । सुनसरीको धरान उपमहानगरपालिकामा प्याराग्लाईडिङ खेल सुरु भएको छ । प्याराग्लाईडिङ खेल सुरु भएसँगै धरान पर्यटकको लागि आकर्षणको केन्द्र बनेको छ । प्याराग्लाईडिङमा रमाउनका लागि पर्यटकहरु धरान पुग्न थालेका छन् ।
पोखराबाट सुरु भएको प्याराग्लाईडिङ खेल अब पूर्वको धरानमा पनि खेल्न पाइने भएको छ । धरान तथा भेडेटार घुम्न पुग्ने पर्यटकहरुलाई प्याराग्लाईडिङले तान्न थालेको छ । सहासिक खेलको परिचय बनेको प्याराग्लाईडिङ पूर्वको सुन्दर नगरी धरानका आकाशमा उडेको देख्न पाइन्छ ।
प्याराग्लाईडिङ खेलका लागि धरानको मौसम र भौगोलीक अबस्था उपयुक्त मानिन्छ । धरानको चिन्डे डाँडा, गोर्खा पार्क, भेडेटार लगायतका स्थानबाट प्याराग्लाईडिङ उडान गर्ने गरिएको छ । २०६७ मा परिक्षण उडान सफल भएसँगै धरानमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरिएको हो ।
प्याराग्लाइडिङका प्रचार प्रसार भएमा धरानमा बाह्य पर्यटक भित्राउन सकिने व्यवसायीको भनाई छ । पर्यटनको प्रवद्र्धन गर्न प्याराग्लाईडिङ खेलको प्रचार प्रसार गर्नु आवश्यक छ ।