दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानको जेल सजाय १५ वर्षमा झारियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८३, शुक्रबार

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानको जेल सजाय १५ वर्षमा झारियो

दक्षिण कोरियाको सोल उच्च अदालतले पूर्वराष्ट्रपति युन सुक–योलको राज्यविप्लवको प्रयासमा सहयोग गरेको अभियोगमा पूर्वप्रधानमन्त्री हान डक–सूलाई सुनाइएको जेल सजाय घटाएको छ । बिहीबार उच्च अदालतले गरेको फैसलाअनुसार हानको सजाय २३ वर्षबाट घटाएर १५ वर्ष कायम गरिएको छ । यसअघि गत माघ ७ गते (जनवरी २१) सोल जिल्ला अदालतले हानलाई राज्यविप्लवमा मतियार बनेको ठहर गर्दै २३ वर्षको कारागार सजाय सुनाएको थियो । उक्त फैसला विरुद्ध परेको पुनरावेदनमा सुनुवाइ गर्दै उच्च अदालतले तल्लो अदालतको निर्णय उल्टाएको हो ।

अदालतले फैसलाका क्रममा पूर्वप्रधानमन्त्री हानले मुलुकको दोस्रो उच्च ओहोदामा रहेर आफ्नो गम्भीर जिम्मेवारी वहन गर्नुको सट्टा राज्यविप्लवमा सहभागी भएको उल्लेख गरेको छ । हानको संलग्नता र अपराधको प्रकृति निकै गम्भीर रहेको अदालतको ठहर छ । हानमाथि सन् २०२४ डिसेम्बर ३ को राति पूर्वराष्ट्रपति युन सुक–योलले घोषणा गरेको संकटकालीन सैन्य शासन (मार्शल ल) सँग सम्बन्धित महत्वपूर्ण कार्यहरूमा संलग्न रहेको अभियोग छ । युनले घोषणा गरेको उक्त सैन्य शासन केही घण्टापछि नै राष्ट्रिय सभाले खारेज गरिदिएको थियो। राज्यविप्लवको मुख्य योजनाकारका रूपमा पूर्वराष्ट्रपति युनलाई गत फेब्रुअरीमा जन्मकैदको सजाय सुनाइसकिएको छ ।

पूर्वप्रधानमन्त्री हानमाथि पुरानो मिति राखेर सैन्य शासनको घोषणापत्र तयार पारेको, त्यसलाई पछि नष्ट गरेको र संवैधानिक अदालतमा पूर्वराष्ट्रपतिको महाभियोग प्रक्रियाका क्रममा झूटो बयान दिएको समेत आरोप छ । सन् २०२५ अगस्टमा हिरासतबाहिरै रहेर मुद्दा चलाइएका हानलाई जिल्ला अदालतले दोषी ठहर गरेपछि गत जनवरीमा अदालतबाटै नियन्त्रणमा लिइएको थियो । उच्च अदालतको पछिल्लो फैसला चित्तबुझ्दो नभएको भन्दै हानको कानूनी टोलीले अब सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ ।

Leave a Reply

ताजा समाचार