नयाँ पर्यटकीय क्षेत्रको ब्राण्डिङ र प्याकेजिङमा ध्यान दिनुपर्छ : सिईओ जोशी | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८२, बुधवार

नयाँ पर्यटकीय क्षेत्रको ब्राण्डिङ र प्याकेजिङमा ध्यान दिनुपर्छ : सिईओ जोशी

काठमाडाैं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले कोभिड–१९ को महामारीपछि विश्व पर्यटन क्षेत्र पूर्णरूपमा पुनःस्थापित भइसक्दा पनि नेपाल अझै रिकभरीको चरणमै रहेको बताउनुभएको छ ।  उहाँका अनुसार सन् २०२५ मा विश्व पर्यटन कोभिड अघिको अवस्था भन्दा करिव ४ प्रतिशतले वृद्धि भइसकेको छ । तर नेपाल भने अझै २ प्रतिशतले पछाडि रहेको छ । उहाँले सन् २०२६ मा पनि नेपालले पूर्ण रिकभरी गर्न नसक्ने अवस्थामा आइपुगेको उल्लेख गर्नुभयो । उहाँका अनुसार नेपालले पनि २०२५ मा १५ प्रतिशतसम्म पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरेको थियो । सोही अनुसार पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

तर ‘जेन–जी मुभमेण्ट’ र दशैं–तिहारको समयमा भएका प्राकृतिक विपद् (बाढी–पहिरो) र त्यसका कारण सडक अवरोध तथा उडान रद्ध हुँदा पर्यटन क्षेत्रमा असर परेको उहाँले बताउनुभयो । पर्यटन आगमनले कमजोर देखिएपनि यस क्षेत्रको लगानीमा भने उल्लेखनीय प्रगति भएको उहाँको भनाई छ । विशेषगरी कोभिडपछि होटल तथा रिसोर्ट क्षेत्रमा ठूलो लगानी भित्रिएको छ । उहाँकाअनुसार कोभिडअघि करिव १०–१२ वटा मात्रै पाँचतारे होटल रहेकोमा हाल १५ भन्दा बढी सञ्चालनमा आएका छन् । साथै अन्तर्राष्ट्रिय चेन होटल र लक्जरी सेग्मेन्टमा समेत विस्तार भएको उहाँले जानकारी दिनुभयो ।

जेन–जी आन्दोलनले पर्यटन क्षेत्रमा दीर्घकालीन नकारात्मक असर भने नपारेको उहाँले बताउनुभयो । सुशासनको लागि भएको आन्दोलन भन्ने सन्देश गएकाले पर्यटन छिट्टै लयमा फर्किएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले ३० प्रतिशत डाउन हुन्छ कि भन्ने सोचेका थियौँ । सेप्टेम्वरमा आगमन डाउन नै छ, त्यसपछि हाम्रो रिकभरी अलि छिटो भयो ।’

पश्चिम एशियाकाे तनावले नेपालको पर्यटन क्षेत्रमा नयाँ चुनौती  
उहाँले पर्यटनको लागि सन् २०२६ को शुरुवात सकारात्मक देखिएपनि नयाँ चुनौतीहरू थपिएको बताउनुभयो । मध्येपुर्वमा देखिएको तनावको कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो चुनौती खडा भएको उहाँको भनाइ छ । उहाँका अनुसार जनवरीमा १५ दशमलब ७ प्रतिशत र फेब्रुअरीमा ८ प्रतिशतले पयर्टन आगमनमा वृद्धि भएको थियो । तर मार्चमा मध्यपूर्व संकटका कारण भएको हवाई मार्ग अवरोध र इन्धन संकटले पर्यटन आगमनमा कमी आएको छ । ईन्धनमा देखिएको अवरोधले सेवा समेत महँगो हुँदै जाने उल्लेख गर्दै उहाँले यो अवस्था लम्बिएमा यातायात, होटल र रेष्टुरेण्ट सेवामा समेत मूल्यवृद्धि हुने बताउनु भयो । मूल्यवृद्धिको प्रत्यक्ष असर पर्यटकमा पनि पर्ने उहाँको भनाइ छ ।

जोशीले नेपालमा पर्यटन बढाउनको लागि व्यवस्थापकीय सुधार अति आवश्यक रहेको बताउनुभयो । साना तर महत्वपूर्ण व्यवस्थापकीय कमजोरीले नेपालको छवि धुमिल भएको उहाँको भनाई छ । नेपाल राम्रो देश र राम्रो मानिस भएको ठाउँ भएपनि व्यवस्थापनमा कमजोर छ भन्ने सन्देश गएको उहाँले बताउनु भयो । पर्यटन क्षेत्रसँग सम्बन्धित पूर्वाधार, अध्यागमन सेवा, संरक्षित क्षेत्र व्यवस्थापन र आन्तरिक उडान ढिलाइ जस्ता समस्याहरू समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पर्यटकलाई अनावश्यक रूपमा यात्रा लम्ब्याउनुपर्ने अवस्था आउनु नकारात्मक हुने उहाँको भनाइ छ ।

नयाँ पर्यटकीय क्षेत्रको ब्राण्डिङ र प्याकेजिङमा ध्यान दिनुपर्छ
नेपालले आफ्नो पर्यटन क्षेत्र उत्पादनको पहिचान र नयाँ प्याकेजिङमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको जोशीले बताउनुभयो । हाल परम्परागत गन्तव्यहरू काठमाडौं, पोखरा र चितवनलाई नै सिमित गरेर पर्यटन प्रवद्र्धनको काम भईरहेको उहाँको भनाई छ । उहाँले यसलाई विविधिकरण गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा अध्याधिक सामुदायिक वन रहेको उल्लेख गर्दै उहाँले हति पर्यटनमा जोड दिनुपर्ने बताउनुभयो । वनमा चराचुरुङ्गी अवलोकन तथा नदीमा एङ्गलिङ जस्ता नयाँ सम्भावनाहरू रहेको उहाँको भनाइ छ । उहाँले हालै सेती नदीमा हालै एङ्गलिङ गरिएको जानकारी दिनुभयो । नेपालको सेती नदीमा १ सय भन्दा बढी ‘गोल्डेन महासिर’ रहेको उहाँको भनाइ छ । उहाँले यस्ता अद्वितीय र दिगो पर्यटन उत्पादनको पहिचान र प्रवद्र्धन गर्नसके नेपालका लागि नयाँ अवसर सिर्जना हुन सक्ने बताउनुभयो ।

उहाँले पर्यटकलाई दुःख दिने काम पनि गर्न नुहने बताउनुभयो । पोखरामा पर्यटक बसिरहेको बेला होटलमा डोजर चलाएको प्रसंग उल्लेख गर्नुहुँदै उहाँले त्यस्ता विषयमा पर्यटकहरुलाई अग्रिम सूचना दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विगतमा मजदुर आन्दोलन हुँदाखेरी बसिरहेको गेष्टहरुलाई बाहिर निकालेर होटल बन्द गरिदिने, बाटो बन्द गरिदिने काम हुन्थ्यो । हाल पोखरामा केही होटलहरुमा डोजर चल्यो, एकदिन अगाडी गएर पर्यटकलाई कुनै सम्बन्धित निकायले सूचना दिनुपर्ने थियो । तपाईंहरु सुरक्षित बस्नुहोस्, यो मापदण्ड विपरित भएकोले भत्काउन लाग्दैछौँ भन्ने जानकारी दिनुपर्छ ।’

उहाँले पर्यटकहरुलाई सहजताको लागि पर्यटन बोर्डले ‘क्राइसिस् कोअर्डिनेसन सेल’ स्थापना गरेको पनि जानकारी दिनुभयो । हड्ताल, कर्फ्यू वा सडक अवरोधका बेला विमानस्थलदेखि होटलसम्म शटल बस सञ्चालन गर्ने तथा प्राकृतिक विपद्का समयमा स्थानीय सरकार, जिल्ला प्रशासन, पर्यटन प्रहरी र निजी क्षेत्रसँग सहकार्य गरी उद्धार तथा समन्वय गर्ने व्यवस्था गरिएको उहाँले बताउनु भयो । उहाँले पर्यटन बोर्डले चाहेर पनि धेरै काम बजेट र जनशक्ति अभावका कारण गर्न नसकेको बताउनुभयो । केही नितिगत कारण पनि समस्या भईरहेको उहाँको भनाई छ ।

Leave a Reply