काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपालको अल्पविकसित मुलुक (एलडीसी) बाट हुने स्तरोन्नतिलाई दुई वर्ष पछि सार्नुपर्ने बताउनुभएको छ । राजनीतिक अस्थिरता र आन्तरिक तयारीको अभावका कारण तोकिएको समयमा स्तरोन्नति हुँदा निजी क्षेत्र र समग्र अर्थतन्त्रले ठूलो चुनौती सामना गर्नुपर्ने उहाँले चेतावनी दिनुभएको हो ।
नेपाल गार्मेन्ट एशोसिएसनद्वारा आयोजित कार्यक्रममा बोल्दै ढकालले बंगलादेशले पनि स्तरोन्नति सार्न आवेदन दिएको सन्दर्भ उल्लेख गर्दै नेपालले पनि सोही बाटो पछ्याउनुपर्नेमा जोड दिनुभयो । निर्यात प्रवर्द्धन पूर्वाधारको अभाव र महँगो लजिस्टिक लागत सबैभन्दा ठूलो वाधक रहेको ढकालले बताउनुभयो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा वेयरहाउस र स्क्यानिङ मेसिनको सेवा प्रभावकारी नभएको, प्रदर्शनीका लागि पठाइने सामानको भन्सार प्रक्रिया झन्झटिलो रहेको र यातायात लागत अत्यधिक महँगो भएको उहाँको गुनासो थियो । उपाध्यक्ष ढकालले निर्यातजन्य उद्योगलाई दिनुपर्ने अनुदान, इन्सेन्टिभ र भन्सारमा व्यावसायिक सेवाको अभाव रहेको औंल्याउनुभयो । नेपालसँग सिमेन्ट, ढुंगा, गिट्टीदेखि उच्च मूल्यका कृषि उपज र खाद्य वस्तुको निर्यात सम्भावना भएपनि सरकारले स्पष्ट रुट र नीति बनाउन नसकेको उहाँले बताउनुभयो ।
महासंघको आगामी निर्वाचनको सन्दर्भ जोड्दै उहाँले निजी क्षेत्र विभाजित हुनुभन्दा पनि एकजुट भएर सरकारसँग संवाद गर्नुपर्ने बताउनुभयो । स्तरोन्नतिपछि पनि पस्मिना, गार्मेन्ट जस्ता धेरै रोजगारी दिने र विदेशी मुद्रा आर्जन गर्ने क्षेत्रलाई जोगाउन विशेष सुरक्षात्मक नीतिको आवश्यकता रहेको उहाँले बताउनुभयो । साथै, व्यापार प्रवद्र्धन केन्द्र (टीपीसी) लाई थप शक्तिशाली बनाउनुपर्ने र निर्यातकर्तालाई प्रोत्साहन गर्ने ‘सीआईपी’ जस्ता सम्मानजनक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।





