काठमाडाैं । नेपाली काँग्रेसले आफ्नो १५ औँ महाधिवेशनको औपचारिक तयारी शुरु गरेको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार चैत २१ गतेदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खटाउँदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रतिनिधि अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको तयारीसँगै ‘जरा अभियान’ सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ७७ वटै जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर जिल्लामा बसेर सदस्यता वितरण, अद्यावधिक र सांगठनिक अवस्थाको प्रतिवेदन तयार पार्नेछन् । महामन्त्री पौडेलले पुराना क्रियाशील सदस्यहरूले बैशाख महिनाभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता अद्यावधिक गर्नुपर्ने बताउनु भयो । पार्टीले यसपटक सबै सदस्यहरूलाई ‘काँग्रेस आईडि’ प्रदान गर्ने भएको छ ।
सदस्यता अद्यावधिक गरेपछि मात्र यो परिचयपत्र प्राप्त हुनेछ । महामन्त्री पौडेलकाअनुसार काँग्रेस आईडि नभएका व्यक्तिहरूले १५ औँ महाधिवेशनमा भाग लिन पाउने छैनन् । नयाँ सदस्यका हकमा भने डिजिटल माध्यमबाट सदस्यता प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
काँग्रेसले महाधिवेशनको तयारीलाई ‘जरा अभियान’ नाम दिएको छ । यस अन्तर्गत चारवटा मुख्य विषयहरू समेटिएका छन् । १५ औँ महाधिवेशनको तयारी, सांगठनिक सुदृढीकरण, नागरिकसँग निर्वाचनको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने कुरा यसमा समेटिएका छन् । पार्टीले गत निर्वाचनमा व्यहोरेको हारको कारण खोज्न र पार्टीलाई पुनर्जीवित गर्न नागरिक स्तरमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ । केन्द्रिय सभापतिको नेतृत्वमा राष्ट्रिय स्तरमा बुद्धिजीवी र पेशाकर्मीहरूसँग संवाद गरिनेछ भने जिल्ला तहमा खटिएका प्रतिनिधिहरूले स्थानीय स्तरमा समीक्षा कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।
पार्टीको संगठनलाई चलायमान बनाउन स्थानीय आवश्यकताअनुसार सामाजिक कार्यहरूमा कांग्रेसलाई जोड्ने नीति लिइएको छ । जिल्लामा खटिएका प्रतिनिधिहरूलाई भ्रातृ संगठनहरूको अवस्था बुझ्न र सांगठनिक प्रतिवेदन बुझाउन समेत निर्देशन दिइएको छ । प्रतिनिधिहरूलाई आवश्यक निर्देशिका, कार्यविधि र फारमहरू उपलब्ध गराएर जिल्ला पठाइसकिएको र अब वैशाखभर सदस्यता अद्यावधिक गर्ने काम व्यापक रूपमा अगाडि बढ्ने महामन्त्री पौडेलले बताउनुभयो ।





