करातेकी एरिका र टेबल टेनिस स्यान्टु एनएनआइपिए स्पोर्टस अवार्डको सर्वोकृष्ट खेलाडी | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

करातेकी एरिका र टेबल टेनिस स्यान्टु एनएनआइपिए स्पोर्टस अवार्डको सर्वोकृष्ट खेलाडी

काठमाडाैं । नेपाली करातेकी सफल खेलाडी  एरिका गुरुङ र छनोट पार गरेर ओलम्पिक खेल्ने टेबल टेनिसका स्यान्टु श्रेष्ठ २० औं एनएनआइपिए स्पोट्र्स अवार्ड २०८१ मा सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित चन्डेश्वरी मन्दिर परिसरमा शुक्रवार भएको कार्यक्रममा टेबल टेनिसका ओलम्पियन स्यान्टु र कराते वान प्रिमियर लिगमा काँस्य पदक विजेता एरिका एनएनआइपिए स्पोट्र्स अवार्ड २०८१ को सर्वोत्कृष्ट खेलाडी भएका हुन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा भएको अवार्डमा २६  वटा खेलका खेलाडीबाट सर्वोत्कृष्ट भए । स्यान्टुले दक्षिण एसियाली छनोट चरण पार गर्दै पेरिस ओलम्पिक जितेका थिए । उनी नेपालबाट छनोट चरणपार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी हुन् । एरिकाले भने मोरोक्कोमा भएको प्रिमियर लिगमा कांस्य र अष्ट्रेलिन ओपन करातेमा स्वर्ण जितेकी थिइन् । एरिका लगातार दोस्रो वर्ष सर्वोत्कृष्ट खेलाडी सफल भइन् ।

एरिकाले लगातार यो अवार्ड जित्न पाउँदा आफू धेरै उत्साहित भएको र उत्प्रेरणा पनि मिलेको बताइन् । सर्वोत्कृष्ट खेलाडी एरिका र सान्टुले अवार्डसँगै एक लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । दुवै खेलाडीले आआफ्ना खेल विधाका उत्कृष्ट पनि भए ।

प्रतिभावान् खेलाडीको अवार्ड पुरूषमा तेक्वान्दोका अभिषेक बराल र महिलामा बक्सिङकी स्वस्तिका तिरूवाले जित्न सफल भए । अभिषेकले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका थिए ।  स्वस्तिकाले आइएसएफ जिम्नासाइड समर गेम्समा स्वर्ण पदक जितेकी थिइन् । दुवै आआफ्ना विधामा  उत्कृष्ट खेलाडी पनि हुन् ।

त्यस्तै २६ खेलका वर्ष उत्कृष्टतर्फ भलिबलकी सुमित्रा रेग्मी, फुटबलकी प्रीति राई, पौडीका एर्बिन श्रेष्ठ, र्याफ्टिङ एण्ड क्यानोइङका रबिन चेपाङ, स्कीकी लक्ष्मी राई, आर्चरीका तिलक पुन, फेन्सिङका मीन कार्की, जिन्म्यास्टिकका सुमित तनाखु,भारोत्तोलनका दीलिप यादव, उसुका शिवजी सिलवाल, कुस्तीका अमरेशकुमार यादव, जुडोकी दीक्षा मगर, बास्केटबलका मुकेश राखल मगर र ह्यान्डबलकी निशा राई भए।

ब्याडमिन्टनकी रशिला महर्जन, टेनिसकी सुनिरा थापा, गल्फका सद्भाव आचार्य, हकीकी निलिमा पाण्डे, ट्रायथलनका मौलिक महर्जन, साइक्लिङका अच्यूत कृष्ण खरेल, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी रबिना चौधरी वर्षको उत्कृष्ट खेलाडी भए । पारा खेलाडी सम्मानबाट एथलेटिक्सकी प्रभा आङदाम्बे सम्मानित भइन् । महिला भलिबल प्रशिक्षक कुमार राईलाई गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट र फोटो पत्रकार उदिप्त सिंह क्षेत्री एनएनआइपिए पत्रकारिता पुरस्कारबाट सम्मानित भए ।
दुवैले सम्मानपत्रसहित ३५ हजार रुपैयाँ प्राप्त गरे । नेपाली महिला भलिबल खेलाडी उत्पादनमा राईले अतुलनीय योगदान दिेएका छन् ।

सिंहसँग भने दुई दशक लामो खेलकुद फोटो पत्रकारिताको अनुभव छ । यो अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर भएको हो । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित रामचरित मेहता, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, राखेपको कार्यकारी बोर्ड सदस्य सुवर्ण श्रेष्ठ र भानबहादुर चन्दका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र पूर्वअध्यक्ष दीपकलगायतले सम्मान गरेका थिए ।

 

Leave a Reply