काठमाडाैं । नेपाली काँग्रेसका संस्थापनइतर पक्षका नेताहरुले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई मान्यता दिएर मात्रै आफूहरु नियमित महाधिवेशनमा जान सक्ने अडान राखेका छन् । बुधवार आफू पक्षका नेताहरुको भेलामा सहभागी भएका नेताहरु गुरु बराल, डा. रणबहादुर रावललगायतका नेताहरुले विधि र विधान सम्मत ढंगले निर्वाचित सो केन्द्रिय कार्य समितिलाई बैधानिकता दिएर आफूहरु नियमित महाधिवेशनमा जाने पक्षमा रहेको प्रष्ट्याउनुभएको हो ।
नेताहरुले पार्टीको आधिकारिताको विषयमा सर्वोच्च अदालतमा रहेको मुद्दाको फैसला पछि आफूहरु १५ आँै महाधिवेशनको तयारीमा जुटने र त्यसमा काँग्रेसका सबै समूहहरु सहभागी हुनुपर्ने जिकिर समेत गरेका छन् । नेता बरालले १४ औ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिलाई विधिवत रुपमा मानेर आफूहरु १५ औ महाधिवेशनको तयारीमा लाग्ने अडानमा रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो,‘काँग्रेस छिटो तन्दुरुस्त भएर जनताको बीचमा जान जरुरी छ । त्यसका लागि हामी १५ औ महाधिवेशनमा सबै आग्रह, पूर्वाग्रह छोडेर उभिन जरुरी छ । त्यो गर्ने कडी भनेको १४ औ महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिलाई विधिवत रुपमा मानेर अगाडि जानु मात्रै हो । यता लाग्न म सम्पूर्ण साथीहरुलाई, नेताहरुलाई हार्दिक आग्रह गर्दछु ।’
अर्का नेता डा. रावलले तत्कालीन महामन्त्री गगन थापाको समूहले भेला भएर बनेको केन्द्रिय कार्य समिति वैधानिक नभएकाले मान्य नहुने जिकिर गर्नुभयो । उहाँले १४ औ महाधिवेशनको नेतृत्वलाई मानेर आफूहरु १५ औ महाधिवेशनको तयारीमा रहेको पनि बताउनुभयो ।
नेता रावलले भन्नुभयो,‘अहिले हाम्रो सर्वोच्च अदालतमा मुद्दा पनि छ । १४ औ महाधिवेशनबाट विधिसम्मत, प्रक्रियासम्मत नेता भएका साथीहरुले केन्द्रिय सभापति र कार्यबहाक सभापतिले एउटा मुद्दा पनि दर्ज गर्नुभएको छ । अर्को तत्कालीन महामन्त्री लगायतका साथीहरुले विशेष महाधिवेशनमार्फत भेला गरेर एउटा कमिटी बनाएर उहाँहरुले आफूलाई बैधानिक भनेपनि वास्तवमा सर्वोच्च अदालतको फैसला नभएसम्म हामीले त्यसलाई वैधानिक मानेका छैनौँ । त्यो विधि, विधान र पद्धतिअनुसार नभएर एउटा हुल वा भेलाले गरेको कमिटी भएको हुनाले हामीबीच द्वन्द्व छ । नेपाली काँग्रेस, विधि, मूल्य र मान्यताअनुसार चल्ने पार्टी हो । त्यसो भएकाले हुनाले १४ औ महाधिवेशनको निर्वाचित केन्द्रिय समिति त्यसै हटदैन । हामी विशेष महाधिवेशनवालाहरुको भेलालाई मान्य पक्षमा छैनौ ।’
यता, संस्थापन पक्षले भने नियमित महाधिवेशनको तयारी थालिसकेको छ ।





