काठमाडाैं ।
निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान)को २६ औँ साधारणसभा तथा १३ औँ अधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष आङ दोर्जी (ए.डी.) लामा समूहको प्यानल घोषणा गरिएको छ । मंगलवारदेखि चल्ने साधारण सभा र अधिवेशनमा प्रतिष्पर्धा गर्न लागि सोमवार काठमाडौंमा एक कार्यक्रमका बीच लामा समूहले उम्मेदवार घोषणा गरेको हो । लामाको समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एशोशिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले चुनाव लड्नेछन् ।
प्यानल घोषणा कार्यक्रममा बोल्दै लामाले सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्न लागेको भन्दै सरकारको स्पिरिटअनुसार काम गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले सार्वजनिक खरिद ऐन संशोधनका लागि व्यवसायीहरूले विगत तीन वर्षदेखि संसदको ध्यानाकर्षण गराउँदै आएको भएपनि राजनीतिक अस्थिरताको कारण त्यो काम सम्भव नभएको बताउनु भयो । लामाले व्यवसायीहरूलाई लोभमा नपरी इमान्दारितापूर्वक काम गर्न समेत आग्रह गर्नुभयो ।




