काठमाडाैं । नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपालले महासंघलाई कुनैपनि राजनीतिक दलको शाखा वा प्रचार विभागको रूपमा प्रयोग नगर्न आग्रह गर्नुभएको छ । महासंघको स्थापना र विकासमा महत्वपूर्ण भुमिका खेल्नुभएका नेपालले पछिल्लो समय पत्रकारितामा बढ्दो राजनीतिकरण र घट्दो गुणस्तरप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।
पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बोल्दै उहाँले महासंघभित्र वैचारिक विविधता हुनु स्वभाविक भएपनि पछिल्लो समय यो संस्था विभिन्न राजनीतिक दल र गुटहरूको अङ्ग जस्तो बन्नु दुःखद् रहेको बताउनुभयो । पूर्वसभापति नेपालले राजनीतिले पत्रकारितालाई कहिल्यै पनि डोमिनेट गर्न नहुने बरु पत्रकारिताले राजनीतिलाई मार्गनिर्देशन गर्नुपर्नेमा जोड दिनुभयो।
अहिलेको सामाजिक सञ्जालको युगमा पत्रकारिताको शैलीलाई ‘रिभ्यू’ र ‘रिभिजन’ गर्ने बेला आएको भन्दै उहाँले पत्रकारहरूको वृत्ति विकास, छात्रवृत्ति र क्षमता अभिवृद्धिमा महासंघले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।





