क्षेत्रीय युद्धका कारण जोर्डनको पर्यटन क्षेत्रमा नयाँ संकट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

क्षेत्रीय युद्धका कारण जोर्डनको पर्यटन क्षेत्रमा नयाँ संकट

एजेन्सी । अमेरिका–इजरायल र इरानबीचको जारी तनावका कारण जोर्डनको पर्यटन क्षेत्रले अर्को ठूलो धक्का व्यहोर्नुपरेको छ । गाजा द्वन्द्वको प्रभावबाट भर्खरै सुधारका संकेतहरू देखाउन थालेको यस क्षेत्रमा पछिल्लो घटनाक्रमले थप अनिश्चितता सिर्जना गरेको छ । पेट्रा विकास तथा पर्यटन क्षेत्र प्राधिकरणका सञ्चालक समिति अध्यक्ष अदनान सावरकाअनुसार युद्धका कारण युनेस्को विश्व सम्पदा सूचीमा रहेको जोर्डनको ऐतिहासिक स्थल पेट्रामा मार्च महिनाका लागि गरिएका शतप्रतिशत बुकिङहरू रद्ध भएका छन् ।

जोर्डनको अर्थतन्त्रका लागि पर्यटन एक महत्वपूर्ण आधार हो । वसन्त ऋतु यहाँको पर्यटन तथा यात्रा एजेन्सीहरूका लागि सबैभन्दा महत्वपूर्ण मौसम मानिन्छ । द्वन्द्व शुरु हुनुअघि अम्मानका सडकहरूमा पर्यटक बोकेका बसहरूको चहलपहल बढ्दै गएको थियो । जोर्डन टुरिज्म एन्ड ट्राभल एजेन्ट्स एसोसिएसनका अध्यक्ष महमुद खसावनेले मार्च महिनामा बुकिङ रद्द हुने दर ८५ प्रतिशतभन्दा माथि पुगेको बताएका छन् । उनले युद्ध छिट्टै अन्त्य नभए अप्रिल र मे महिनाका लागि गरिएका बुकिङहरू पनि रद्द हुने अपेक्षा गरिएको जानकारी दिए ।

जोर्डन होटल एसोसिएसनका अध्यक्ष हुसेन हिलालतले अन्तर्राष्ट्रिय र अरब पर्यटन बजारबाट धेरै उडानहरू रद्ध भएकाले देशभरका होटलहरूको अकुपेन्सी दरमा तिब्र गिरावट आएको बताएका छन् । जोर्डनको सिनेटमा पर्यटन तथा सम्पदा समितिका अध्यक्ष मिशेल नाजलले पर्यटन क्षेत्रले ‘जटिल र लामो संकट’ बेहोरिरहेको टिप्पणी गरेका छन् । उनले यसको प्रभाव सञ्चालन नाफामा मात्र सिमित नभई हजारौं रोजगारी र लगानी नै बजारबाट पलायन हुने जोखिममा पुगेको बताएका छन् ।

पर्यटन तथा पुरातात्विक मन्त्री इमाद हिजाजिनले बुकिङ र हवाई ट्राफिकमा युद्धको प्रभाव अनुगमन गर्न एउटा आपतकालीन टोली गठन गरिएको र मन्त्रालयले पर्यटन क्षेत्रलाई सहयोग गर्न आवश्यक कदम चालिरहेको जानकारी दिए ।

Leave a Reply