बनेपा,३ फागुन । २०४६ सालको कुरा हो । पनौती–१०, खोपासीका कृष्णदास उलकले तीन हजार रुपैयाँको लगानीमा एक सयवटा बल कन्ये जातको च्याउ खेती गरिने परालको पोकामा च्याउ खेती गरे । त्यसबाट ३० हजार रुपैयाँ आम्दानी लिन उनी सफल भए ।
नसोचेको आम्दानीबाट हौसिएका उनले सोही वर्ष खेतीलाई विस्तार गर्दै एक हजारवटा बलमा पुर्याए । च्याउ उत्पादन पनि मज्जाले भयो । तर, काठमाडौं धाउँदासमेत उत्पादित सबै च्याउ बेच्न सकेनन् । ‘खिचापोखरीमा कागती बेच्ने मधेसी व्यापारीले च्याउ किनिदिन्थ्यो । उसले दिनमा जम्माजम्मी १० किलो बेच्ने भएकाले केही मसँग र केही बलम्बुका किसानसँग लिन्थ्यो ।
उसले लिन नमानेको च्याउ फिर्ता ल्याएर धेरैपटक बनेपाको पुण्यमाता खोलामा फालेर घर फर्कन्थें,’ उलकले विगत स्मरण गरे । हुनपनि आजभन्दा २८ वर्ष अघि च्याउ सेवनबाट मानव पोषणलाई पुग्ने फाइदाबारे पर्याप्त ज्ञान नभै लिएको अवस्था थियो । साथै उपत्यकाका रैथाने नेवारबाहेक काँठमा च्याउ खाने समुदाय ज्यादै कम भएको अवस्थामा च्याउ खेतीमा हामफाल्नु दुस्साहस भएको उलक स्वीकार्छन् ।
‘च्याउखेती विज्ञ केशरीलक्ष्मी मानन्धरले बजारको अवस्था नबुझी एक हजार बलमा एकैपटक खेती नगर भन्नु भएको थियो । तर, सधैं भरि खेती किसानीमा नयाँ केही गर्ने हुटहुटी चल्थ्यो । उहाँको अर्तीलाई के वास्ता गर्थें र ,’ उनले थपे, ‘त्यतिखेर एक किलो च्याउलाई एक सय २० रुपैयाँमा बेच्न सकिन्थ्यो । तर, दुर्भाग्य भनौं या के भनौं, एकै वर्षमा मेरो च्याउ खेतीको यात्रा नै टुंगियो,’ उलकले भने ।
पुख्र्यौली पेसा कपडा व्यापार भए पनि परिवारका जेठो छोरा उनी व्यापारभन्दा पनि खेती किसानीमै रमाउँथे । च्याउ खेतीले दिएको पीडालाई भुल्न उलकले ट्याक्टर हुँदै बस सेवा सञ्चालनलाई रोजे । तर, त्यस व्यवसायले १४ वर्षसम्ममा सोचेजति प्रगति हुन नसकेपछि खेती किसानीमै फर्कने निधो गरेको बताए ।
‘आगोले पोलेको घाउ, आगोमै सेकाएर निको पार्नुपर्छ’ भन्ने लाग्यो । ०६० मा फेरि च्याउखेतीमै फर्कने निर्णय गरेँ,’ उलकले भने, ‘गाउँकै एक सहकारीबाट ५० हजार ऋण लिएँ । खोपासी सहकारी संस्थाको जग्गा चार वर्षलाई भाडामा लिएर च्याउखेती र धानखेती गर्न थालें । त्यसपछि मलाई कहिल्यै पछाडि फर्कनु परेन,’ उलकले थपे ।
अघिल्लो पटक एक हजार बल राख्दा क्षति बेहोरेको हुँदा आठ सय बलमा खेती गर्न थालेका उनले पछिल्लो पटक बजार खोज्न काठमाडौं पुग्नै परेन । ‘च्याउ खानुपर्छ भन्ने चेतना बढेर होला, दिनको ५० किलोसम्म बनेपामै बिक्न थाल्यो । काठमाडौं जाने आवश्यकता नै भएन,’ उनले भने ।सहकारीको करार सकिएपछि आफ्नै र भाइहरुको जग्गामा केही वर्ष खेती गरेका उलक यतिखेर खोपासी बजार आसपासमै २२ रोपनी जग्गा भाडामा लिएर च्याउ खेती गरिरहेका छन् । यीनै जग्गामा साना–ठूला गरी ३० वटा प्लास्टिक हाउस बनाएका छन् ।
‘सबै हाउसमा गरी १७ हजार बल राख्न सक्ने क्षमता रहेको छ । बीउ राम्रो परेको खण्डमा तीन किलोसम्म एउटा बलबाट च्याउ टिप्न सकिएको छ । खोपासी फार्ममा टिपिएको च्याउ बनेपाको बजारमा बिहान पाँच बजेसम्ममा पुर्याउँदै आएको छु,’ उलकले भने ।
धेरै सचेत भएर खेती गरिराख्ने क्रममा एकपटक दुई हजार बलमा च्याउ नफल्दा नोक्सानीमा गएका उनले यतिखेर च्याउ खेतीको बल र प्लास्टिक हाउसको बिमा गराउन थालेका छन् । ‘अब हावाहुरीले प्लास्टिक हाउस उडाएको अवस्थामा या केही गरी च्याउ फलेन या रोगले सखाप पा¥यो भनेपनि बिमा भएकाले ढुक्क भएको छु,’ उनले भने ।
च्याउ खेतीमा केही समस्या आइहालेमा उलकले बाली संरक्षण अधिकृत देवराज अधिकारी र कृषि प्रसार अधिकृत कृष्ण धिताललाई सीधा सम्पर्क गर्दै आएका छन् । दुवै अधिकृतले हौस्याएको हुँदा जय हारतीमाँ च्याउ उद्योग कम्पनी दर्ता गरेर व्यावसायिक किसानको सूचीमा उभ्याएका छन् भने खेतीमा सफलता र आम्दानीमा क्रमशः वृद्धि हुँदै गएको उनको भनाइ छ ।‘कृषिबाट युवा लक्षित अनुदान ४० हजार रुपैयाँ र एउटा बल बनाउने मेसिन ९बलर० पाएको थिएँ । तर, त्यो मेशिनमा पनि जनशक्ति लाग्ने भएकाले खासै फाइदा लिन सकेको छैन । बिमाको प्रिमियममा सरकारी १५ प्रतिशत अनुदानबाहेक अन्य सरकारी सहयोग पाएको छैन,’ उलकले भने ।
सुरुमा आफूमात्रै संलग्न रहेका उलकले पत्नी, एक्ली छोरी र ज्वाइँलाई पनि यही खेतीमा आवद्ध गराएका छन् । १५ जना महिलालाई रोजगारी दिएका छन् । बल बनाउन आवश्यक परालको भूसा सर्लाहीबाट झिकाउने गरेका छन् । च्याउको बीउ ठिमीबाट ल्याउने गरेका छन् । विगतमा केही समय खुमलटार नार्कबाट बीउ ल्याएपनि थोरैमात्र पाइने हुँदा निजी व्यवसायीसँग भर परेको उनी बताउँछन् ।
प्लास्टिक हाउस र अन्य सामग्रीका लागि सहुलियत दरको कृषि ऋणका लागि उलकले धेरै बैंक चाहारेका छन् । कृषकका लागि खोलिएको कृषि विकास बैंकले समेत पक्की घर र राम्रो जग्गा धितो भएमा ऋण दिन सकिने तर २५ लाख रुपैयाँभन्दा घटी हुन्न भन्ने सर्त तेस्र्याएपछि बैंकको ढोका चाहार्न छाडेर अन्ततः सहकारीबाटै २० लाख रुपैयाँ ऋण लिएको उनले बताए ।
‘एउटा किसानको सम्पत्ति भनेकै निर्वाहका लागि घर र केही खेतीयोग्य जमीन हो । तर, मसँग सफल च्याउ खेती परियोजना हुँदाहुँदै पनि बैंकले मागेजस्तो धितो नहुँदा बाध्य भएर धेरै ब्याजमा ऋण काढेको छु । कृषिको सहुलियत ऋण वास्तविक किसानभन्दा पनि नेताका आसेपासे र धेरै ठूला कृषि उद्योगलाई मात्रै हो भन्ने लाग्न थाल्यो,’ बैंकहरुको रबैयाप्रति गुनासो गर्दै उलकले भने ।
च्याउबाट कमाई भएको आम्दानीलाई यसैमा थप्दै खेती विस्तार गर्दै रहेका उलक भविष्यमा नेट हाउसमा मौसमी र बेमौसमी तरकारी फलाउने योजना बुन्दै रहेका छन् । योजनाको पहिलो चरणमा च्याउखेती रहेको फार्म नजिकै यस सिजनमा २५ सय बोट भक्तपुरे लोकल काँक्रो खेतीका लागि जग्गा भाडामा लिइसकेका छन् ।
‘हालसम्म ६० लाख रुपैयाँजति च्याउ खेतीमा लगानी भइसक्यो । अबको आम्दानीले काभ्रे र ललितपुरको सीमानामा दुई वर्षभित्रमा नयाँ तरिकाले तरकारी लगायत खाद्यान्नको खेती गर्ने अभियानमा छु । त्यस ठाउँमा नेट हाउसमा सकेसम्म अर्गानिक, सकिएन भने सुरक्षित खाद्य सेफ फुड उत्पादन गर्ने मेरो ठूलो इच्छा छ,’ उलकले थपे । आजको नागरिक दैनिकमा यस्तो खवर छ ।