काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनको वस्तुगत तर्फका उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरेले उत्पादनमुखी र प्रविधिमैत्री अर्थतन्त्र निर्माण आफ्नो प्रमुख एजेण्डा रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा अञ्जन श्रेष्ठ समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै घिमिरेले यस्तो बताउनुभएको हो ।
उहाँले आत्मनिर्भर औद्योगिक संरचना विकासका लागि विशेष औद्योगिक नीति आवश्यक रहेको औंल्याउँदै त्यसका लागि निर्णायक पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले विश्वव्यापीकरणका कारण विकासशील मुलुकतर्फ उक्लिरहेको नेपालको साना तथा मझौला उद्योग क्षेत्र जोखिममा परेको भन्दै त्यसको संरक्षण पनि आफ्नो प्राथमिकता रहने उल्लेख गर्नुभयो ।
उहाँले ठूला उद्योग र साना उद्योगीबीच सहकार्यको वातावरण निर्माण गरी उत्पादन वृद्धि तथा प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुका साथै किसान, सहकारी र उद्योगबीच एकीकृत मूल्य शृंखला विकास गर्दै कृषिजन्य कच्चा पदार्थमा आधारित उद्योगलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न पहल गर्ने दाबी पनि गर्नुभयो ।
उहाँले पर्यटन क्षेत्रलाई कृषि, शिक्षा र स्वास्थ्यसँग जोडेर एकीकृत विकास मोडेल अघि बढाउने योजना समेत सार्वजनिक गर्नुभयो । अवैध तथा अस्वस्थ प्रतिष्पर्धा नियन्त्रण गर्दै करको दायरा विस्तार र पूर्वानुमानयोग्य कर प्रणालीको वकालत गर्ने उहाँको भनाइ छ । युवा उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै स्टार्टअपका लागि सुरक्षित र प्रोत्साहनमूलक वातावरण निर्माण गरिने समेत उहाँले बताउनुभयो । साथै, प्रविधिमा आधारित व्यवसायलाई अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सम्बन्धित निकायहरूसँग सहकार्य घिमिरेले प्रतिवद्धता जनाउनुभयो ।
एफएनसीसीआईको यही चैत २९ र ३० मा हुने ६० औँ वार्षिक साधारण सभाले अध्यक्षबाहेक अन्य पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको चयन गर्नेछ





