इस्लाम धर्मावलम्बीहरुले इद उल फित्र पर्व मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

इस्लाम धर्मावलम्बीहरुले इद उल फित्र पर्व मनाउँदै

काठमाडाैं । आज इस्लाम धर्मावलम्बीहरुले इद उल फित्र पर्व मनाउँदै छन् । रबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै गरेका हुन् ।

आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक दान गरेर दीन दुःखी, गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको वचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा छ । यसरी दान गरिएको नगद वा जिन्सी दीन दुःखी एवम् गरीबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ । इद उल फित्रमा हरेक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा त्यो बराबरे नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीन दुःखी र गरीबलाई नै दिइन्छ ।

एक महिना अघिदेखि सुरुभएको मुस्लिम समुदायको एक महिना लामो ब्रत रोजा पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउने गरिन्छ । पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाइ साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

Leave a Reply