काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटलाई काठमाडौं बाहिर विस्तार गर्ने उद्देश्यका साथ यस वर्षको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता मधेस प्रदेशको धनुषा र वीरगञ्जमा आयोजना गर्ने भएको छ । प्रतियोगिताको पूर्वसन्ध्यामा क्यानका राष्ट्रिय उपाध्यक्ष रोशन सिंहले जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ग्राउण्डको तयारी लगायतका सबै प्राविधिक कामहरू सम्पन्न भइसकेको जानकारी दिनुभएको हो ।
सिंहका अनुसार विगतमा धनुषामा पहिलो पटक जय ट्रफी आयोजना गरिएको सफलतापछि यसपालि क्यानले नै प्रधानमन्त्री कप जस्तो ठूलो प्रतियोगिता मधेशमा ल्याएको हो । उहाँले यस प्रतियोगितालाई खेलाडीहरूका लागि आफ्नो क्षमता प्रदर्शन गरेर राष्ट्रिय टिममा स्थान बनाउने ‘लक्की पोइन्ट’ भएको बताउनुभयो ।
यसअघि लुम्बिनी प्रदेशमा आयोजना गरिएको यो प्रतियोगिता यसपटक मधेसमा ल्याइनुको मुख्य कारण क्रिकेटलाई काठमाडौंमा मात्र सीमित नराखी समग्र देशव्यापी बनाउनु रहेको सिंहले बताउनु भयो । क्यानका सबै पदाधिकारीहरूले क्रिकेटलाई देशका विभिन्न कुनामा पु¥याउने वातावरण सिर्जना गरेको उहाँको भनाइ छ । शनिवारबाट शुरु हुने प्रतियोगिताको तयारीबारे जानकारी दिँदै उहाँले ग्राउण्डको प्रिपरेसन लगभग सकिएको बताउनु भयो । मौसमको प्रतिकूलताका कारण क्यानका अध्यक्षको आगमनमा केही अन्योल देखिए पनि टिमलाई बोलाउने काम भइरहेको सिंहले बताउनुभयो ।
नेपालको प्रतिष्ठित क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप यस वर्ष पहिलो पटक मधेस प्रदेशमा आयोजना हुन लागेको हो । मधेस प्रदेश क्रिकेट विकास समितिका सदस्य आकाश पाण्डेकाअनुसार यस प्रतियोगितामा कुल १० वटा टिमले सहभागिता जनाउनेछन् ।
सहभागी टिमहरूमा सातवटा प्रदेश र तीनवटा विभागीय टिम (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ क्लव) रहेका छन्। प्रतियोगिताको शुरुवाती तालिकाअनुसार काठमाडौंको टीयु ग्राउण्डसहित तीनवटा भेन्यु तय गरिएको भएपनि हाल टीयू ग्राउण्डमा रंगशाला स्तरोन्नतिको काम भइरहेकाले सबै खेलहरू मूलपानी र मधेस प्रदेशका ग्राउन्डहरूमा सारिएको छ ।
प्रतियोगिताका १७ वटा म्याच जनकपुरमा र १८ वटा म्याच वीरगञ्जमा खेलिनेछ । प्रतियोगिताको फाइनल खेल वीरगञ्जको टिडीएसआइ स्टेडियममा हुने तय भएको छ ।





