काठमाडाैं । समानुपातिकतर्फ क्लस्टर मिलाएर बन्दसूची अनुसार नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदैछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० सिटका लागि निर्वाचित हुने सांसदको नाम छान्न विभिन्न दल गृहकार्यमा जुटेका छन् ।
समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाएका प्रत्यक्षतर्फ पहिलो बनेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिस्ट पार्टी नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ४ सिट पाएको छ । एमालेले हिजो नै १६ जना समानुपातिक सांसदको टुङ्गो लगाउँदै नाम सार्वजनिक गरेको छ ।
अरू बाँकी पाँच दलले आज अन्तिम निर्णय गरी निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ । दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू तथा मुस्लिमको प्रतिनिधित्व हुने गरी बन्दसूचीमा नाम समावेश भएको क्रमअनुसार आयोगमा सूची बुझाउनुपर्ने हुन्छ । दलका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ ।





