डिजिटल लोकतन्त्रको अवसर र एल्गोरिदमिकको चुनौती एकै साथ भित्रिएको छ । टेक्नोपोलिटिक्स सामाजिक सञ्जाल प्रयोगकर्तामा मात्र सीमित छैन, छलफलका सबै मञ्चमा फैलिएको छ । अहिलेको निर्वाचनले सामाजिक सञ्जाल, डिजिटल एल्गोरिदम र डेटा प्रवाहले मतदाताको धारणा र जनमत निर्माणमा महत्त्वपूर्ण प्रभाव पारेको विश्लेषण गरिएको छ । अब विश्वासिलो लोकतन्त्रका लागि प्रमाणित डेटा, एआई सहयोगी निगरानी, एकीकृत नियामक प्रयास र संस्थागत पारदर्शिता अनिवार्य भइसकेको छ ।
एल्गोरिदम पछिल्लो समय विश्वभर चर्चित शब्द हो । सामाजिक सञ्जालबाट सञ्चार, सूचना आदानप्रदान र लोकप्रियता प्राप्त गर्न एल्गोरिदमको विकास भएको हो । यससँगै नेपालमा सामाजिक सञ्जाल राजनीतिक संवादको प्रमुख माध्यम बनिसकेको छ । भरखरै भएको निर्वाचनले यसको प्रभाव स्पष्ट गरेको छ । फेसबुक, एक्स, टिकटक र रिल इन्स्टाग्रामजस्ता प्लेटफर्महरूले मतदाता, दल र उम्मेदवारबीचको अन्तक्रियालाई तीव्र र प्रत्यक्ष बनाए । यसले लोकतान्त्रिक सहभागिता विस्तार गरेको छ । तर यही संरचनाले गलत सूचना र नियोजित डिजिटल चुनौती पनि थपिएको छ ।
एल्गोरिदमले प्राथमिकता दिने भावनात्मक, विभाजनकारी र सनसनीपूर्ण सन्देशहरू छिटो फैलिन्छन् । यही प्रक्रिया एल्गोरिदमिक प्रबर्द्धन हो । राजनीति र डिजिटल प्रविधिको संयोजन टेक्नोपोलिटिक्स एल्गोरिदमको पछिल्लो रुप हो । यसले लोकतन्त्रलाई सशक्त बनाउन सक्छ । तर नियमन र पारदर्शिता कमजोर भए संरचना लोकतान्त्रिक प्रक्रियाका लागि जोखिम हुन पनि सक्छ । टेक्नोपोलिटिक्सले राजनीति र डिजिटल प्रविधिको संयोजनमार्फत मतदाताका धारणा प्रभावित गर्ने रणनीति अपनाउँछ । एल्गोरिदमिक प्रवर्द्धनले यी सामग्रीलाई प्राथमिकता दिन्छ र तीव्र गतिमा फैलाउँछ जसले सानो वा अप्रमाणित सामग्रीलाई पनि व्यापक प्रभाव दिन सक्षम बनाउँछ ।
टेक्नोपोलिटिक्स र एल्गोरिदमिक प्रवर्धनको संयोजनले डिजिटल प्लेटफर्ममा फैलने चुनौती जटिल बनाएको छ । डिजिटल लोकतन्त्र सुरक्षित राख्न सावधानीपूर्ण नियमन, डेटा विश्लेषण र एल्गोरिदमिक निगरानी अनिवार्य छन् । चुनावको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न डेटा विज्ञान र कृत्रिम बुद्धिमत्ता नभै नहुने चुनावबाट स्पष्ट भइसकेको छ । यसले गलत वा अनावश्यक जानकारी हटाएर निष्पक्ष तथ्याङ्क सुनिश्चित गर्छ र मतदाताको विश्वास बलियो बनाउँछ ।
कृत्रिम बुद्धिमत्तामा आधारित एल्गोरिदमिक पारदर्शिता मोडेलले निर्णय प्रक्रियामा पूर्वाग्रह र गलत प्रवृत्तिहरू पत्ता लगाउन मद्दत गर्छ । ठूलो मात्रामा सामाजिक मिडिया सामग्रीको विश्लेषण, गलत सूचना पहिचान र वर्गीकरणमा एआई प्रयोगले निर्वाचन परिणाम र जनमत निर्माणमा सकारात्मक असर पु¥याएको देखिन्छ । निर्वाचनले नेपालमा डिजिटल प्रविधि र सामाजिक मिडियाको बढ्दो प्रभावसँगै प्रविधि आधारित राजनीति र एल्गोरिदमिक प्रवर्धनले लोकतन्त्रमा नयाँ चुनौती थपेको देखाएको छ ।निर्वाचनकालमा फैलिने गलत कुरा वा गलत सूचनाले मतदाताको धारणा र निर्णय प्रक्रियामा असर पार्छ ।
यद्यपि, आधिकारिक प्रचारप्रसार सामग्री निर्वाचन आयोगले अनुमोदित र नियमन गरेको हुन्छ जसले पार्टी वा उमेदवारको वास्तविक अभियानलाई सार्वजनिक पार्छ । दीर्घकालीनरूपमा डेटा विज्ञान र कृत्रिम बुद्धिमत्तामार्फत बनेका सार्वजनिक ड्यासबोर्ड र खुला डेटा संयन्त्रहरू आयोगको नियन्त्रणमा हुनु पर्छ । अन्य नियामक निकायहरूसँग समन्वयकर्ता र प्रविधि सहयोगीको भूमिकामा अनिवार्य रूपमा संलग्न हुनुपर्ने अवस्थालाई पनि हेर्दै कानुनी र प्राविधिक क्षमतातर्फ सोच्नुपर्ने देखिन्छ ।
प्रविधि लोकतन्त्रको शत्रु होइन । यसको प्रयोगको ढाँचाले नै भविष्य निर्धारण गर्छ । नयाँ निर्वाचन परिणाम, डिजिटल मतदाताको प्रभाव र डेटासञ्चालित पारदर्शिता एवं नियमनको संयोजनले मात्र डिजिटल संरचना लोकतन्त्रको रक्षक बन्न सक्छ ।





