काठमाडाैं । अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले अनिश्चयर र चुनौतिका बीच प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको छ । मन्त्री खनाालले आईतवार निर्वाचन आयोगको कार्यालय पुगेर आयोगका पदाधिकारीलाई भेटी धन्यवाद प्रकट गर्नुभएको हो ।
निर्वाचन हुनुभन्दा दुई दिन अघिसम्म पनि चुनाव हुन्छ कि हुँदैन भन्ने अनिश्चय र जोखिमपूर्ण वातावरण रहेको स्मरण गर्दे उहाँले जटिल अवस्थामा पनि निर्वाचन आयोग कार्यतालिका भित्रै कार्य सम्पन्न गर्नेमा कटिवद्ध रहनुले निर्वाचनको सम्पूर्ण श्रेय आयोगलाई जाने बताउनुभयो । उहाँले जोखिमपूर्ण घडीमा आयोगले निर्वाह गरेको नेतृत्वदायी भुमिकाको उच्च प्रशंसा गर्नुभयो ।
निर्वाचनका क्रममा सुरक्षा संयन्त्र र सबै सरोकारवाला निकायबीचको सहकार्य प्रभावकारी रहेका कारण यसपटक कतै पनि हातपात, बुथ कब्जा वा फर्जी मत खस्ने जस्ता गतिविधि नभएको उहाँले बताउनु भयो । अन्तर्राष्ट्रिय निकायहरूले समेत यस निर्वाचनलाई निकै शान्तिपूर्ण मानेको उल्लेख गर्दै मन्त्री खनालले कुनै पनि ठाउँमा निर्वाचन स्थगन नभई तोकिएकै दिनमा सम्पन्न हुनुलाई ठूलो उपलब्धिका रूपमा चित्रण गर्नुभयो । उहाँले राजनीतिक दल र उम्मेदवारहरूले देखाएको मित्रवत व्यवहार र स्वच्छ सहभागिताले लोकतन्त्रलाई थप मजबुत बनाएको बताउनुभयो ।
गृहमन्त्री ओमप्रकाश अर्याल, कानून न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले पनि आयोगको कार्यालय पुगेर धन्यवाद दिनुभएको छ । त्यसैगरी नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र शसस्त्र प्रहरी प्रमुख राजु अर्याल पनि आयोग पुगेर शाान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवादन दिनुभएको थियो ।





