काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ । आईतवार सिंहदरबारमा आयोजित ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा नागरिकको आत्मसम्मान नै सर्वोपरि हुने बताउनुभएको हो ।
उहाँले एकपटक प्राप्त गरेको जनादेश सधैँका लागि स्थायी नहुने पनि स्पष्ट पार्नुभयो । देशको विशेष र जटिल अवस्थामा सम्पन्न भएको निर्वाचनले शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक निकास दिएको भन्दै उहाँले यसलाई नेपाली जनता, नेपाल राष्ट्र र संविधानको ठूलो विजय भएको बताउनु भयो । लोकतन्त्रमा कुनैपनि शक्तिको वैधता नागरिकको आत्मसम्मानको जगमा उभिएको हुने उहाँको भनाइ छ ।
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न योगदान गर्ने सम्पूर्ण नेपाली जनता, निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल तथा पर्यवेक्षकहरूप्रति उहाँले आभार व्यक्त गर्नुभयो । महिला लगायत विकासको मूल धारबाट पछि परेको वर्गलाई अवसर र स्रोतहरूमा पहुँच सुनिश्चित गर्दै राष्ट्र निर्माणमा सम्मानयुक्त सहभागिता गराउनु नै आजको लोकतन्त्रको मूल अभीष्ट हुनुपर्नेमा प्रधानमन्त्री कार्कीले जोड दिनुभयो ।





