काठमाडाैं । काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु निर्वाचित हुनुभएको छ । शनिबार बिहानसम्म काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरु विजयी हुनुभएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित हुनुभएको छ । उहाँ ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत ल्याउनुभएको छ । यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोविता गौतम निर्वाचित हुनुभएको थियो ।
यसैगरी, काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा रास्वपाकै पुकार बम निर्वाचित हुनुभएको छ । उहाँ २९ हजार १४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गर्नुभयो भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ ल्याउनुभएको छ ।
यससँगै काठमाडौँमा रास्वपाको ‘क्लिन स्विप’ गरेको छ । यसअघि रास्वपाले काठमाडौं १ मा रन्जु न्यौपाने, ३ मा राजुनाथ पाण्डे, ५ मा सस्मित पोखरेल, ६ मा शिषिर खनाल, ७ मा गणेश पराजुली, ८ मा बिराजभक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रताप विष्ट विजयी भइसक्नुभएकाे छ ।
त्यस्तै, काठमाडाैं उपत्यकामा रहेकाे भक्तपुर जिल्लाकाे एउटा निर्वाचन क्षेत्रमा रास्वपाकाे जित भइसकेकाे छ भने एउटामा अग्रस्थानमा छ । ललितपुरका सबै क्षेत्रमा रास्वपानै अग्रस्थानमा छ ।





