काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज बिहीवार देशभर मतदान भइरहेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन मतदानको दिन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
सुरक्षा व्यवस्थालाई मध्यनजर गरेर अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । उहाँकाअनुसार अत्यावश्यक सेवा, कुटनीतिक नियोग र निर्वाचन आयोगले तोके बमोजिमका पास भएको सवारी साधन मात्रै संचालन गर्न दिइएको छ ।
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय वायुसेवाका उडानहरू भने नियमित रूपमा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । हवाई उडानको टिकट भएका यात्रुहरुलाई यात्रा गर्नको लागि विमानकम्पनीहरुले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्न पाउनेगरि आयोगले व्यवस्था गरेको छ ।
आयोगले निर्वाचनको सुरक्षा तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सर्वसाधारणलाई अनावश्यक सवारी सञ्चालन नगर्न आग्रह गरेको छ ।





