‘जन्मदिनमा वृक्षरोपण अभियान'लाई सरकारको प्राथमिकतामा पार्न पहल गर्छु : अध्यक्ष पाण्डे | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

‘जन्मदिनमा वृक्षरोपण अभियान’लाई सरकारको प्राथमिकतामा पार्न पहल गर्छु : अध्यक्ष पाण्डे

काठमाडाैं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले जन्मदिनमा वृक्षरोपण अभियानमा आफूले पनि एउटा इँटा थप्ने बताउनुभएको छ । अध्यक्ष पाण्डेको जन्मदिनका अवसरमा लजमुङको बेसीशहरमा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वृक्षरोपण अभियानमा आफ्नो तर्फबाट हरतरहको साथ रहने बताउनुभएको हो ।

अध्यक्ष पाण्डेले आफ्नो जन्मदिनको अवसरमा बेसीशहर–७ स्थित बालमन्दिर आभारभूत विद्यालय परिसरमा वृक्षरोपण गर्नुभयो । उहाँले पवित्र अभियानमा सहभागी हुन पाएकोमा गौरव महशुस गरेको बताउनुभयो । उहाँले जन्मदिनमा वृक्षरोपण अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल स्थापना गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । अभियानलाई सरकारको प्राथमिकतामा पार्न आफूले सक्दो पहल गर्ने उहाँको भनाइ छ ।

अध्यक्ष पाण्डेले अभियन्ताहरुको साथमा रहेर आफ्नो जन्मदिनको अवसरमा वृक्षरोपण गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा जन्मदिनमा वृक्षरोपण अभियानका परिकल्पनाकार बासुदेव सेढाईँले अभियान सञ्चालन गर्नुको उद्देश्य तथा अभियानले सञ्चालन गरिरहेको विभिन्न कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा अध्यक्ष पाण्डेकी आमा शान्ता पाण्डे, जन्मदिनमा वृक्षरोपण अभियानका परिकल्पनाकार एवं संस्थाका अध्यक्ष बासुदेव सेढाईँ, कार्यसमिति पदाधिकारीहरु, आजीवन सदस्यहरु, अभियन्तालगायतको उपस्थिति थियो ।

२०७५ मंसिर २९ गते लमजुङ जिल्लाबाट शुरु भएको जन्मदिनमा वृक्षरोपण अभियान हाल नेपालका ६५ जिल्ला तथा विश्वभर नौवटा देशमा सञ्चालन भइरहेको संस्थाकाे भनाइ छ ।

Leave a Reply