जेनेभा वार्ता असफल भएसँगै युद्धमा हाेमियाे मध्यपूर्व | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

जेनेभा वार्ता असफल भएसँगै युद्धमा हाेमियाे मध्यपूर्व

काठमाडाैं। अमेरिका र इजरायल मिलेर इरानमाथि सैन्य आक्रमण सुरु गरेका छन् । अमेरिका र इरानबीचको जेनेभा वार्ता असफल भएपछि शनिबार बिहानदेखि इरानको राजधानी तेहरानलगायत विभिन्न स्थानमा हवाई आक्रमण गरिएको हो ।

आफूमाथि भएको आक्रमणको प्रत्याक्रमण स्वरूप इरानले इजरायलसहित कतार, बहराइन, संयुक्त अरब इमिरेट्स र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । ती क्षेप्यास्त्रलाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट पारिदिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । इरानले प्रत्याक्रमण गरेपछि मध्यपूर्वका सबै हवाई उडान प्रभावित भएको एपीले जनाएको छ ।

इजरायलले प्रहार गरेको क्षेप्यास्त्र दक्षिण इरानस्थित दुई विद्यालयमा विस्फोट हुँदा ५१ जना विद्यार्थी मारिएको कतारस्थित अल जजिरा टेलिभिजनले जनाएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ठुलो सैन्य कारबाही सुरु गरिएको बताउँदै यस अवसरमा त्यहाँको अतिवादी सत्ता परिवर्तन गर्न इरानी नागरिकलाई आह्वान गर्नुभएको छ ।

अमेरिकी समाचार संस्था एपीले दुई जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरानमा भएको आक्रमणमा अमेरिकाको पनि संलग्नता रहेको बताएका छन् । गत वर्षको जुलाईमा इजरायल र इरानबिच युद्ध हुँदा अमेरिकाले इरानका आणविक केन्द्रहरूमा भीषण आक्रमण गरेको थियो ।

त्यति बेला इरानका ठुला तीन वटा आणविक केन्द्रमा अमेरिकाले शक्तिशाली जिबियु–५७ बम खसालेको थियो । अमेरिकाले त्यति बेलै कामै नलाग्ने गरी ध्वस्त बनाएको भनिएका आणविक केन्द्रहरूमा परमाणु कार्यक्रम पुनः सञ्चालन भइरहेको सार्वजनिक भएपछि अमेरिकाले इरानलाई परमाणु कार्यक्रम रोक्न दबाब दिँदै आएको छ ।

ओमान र जेनेभामा पटक पटकको वार्ता भए पनि इरान सहमतिमा नआएपछि अमेरिकाले इरानतर्फ मध्यपूर्वका विभिन्न क्षेत्रमा अत्याधुनिक युद्धपोतसहितको सैन्य शक्ति तैनाथ गरेको छ ।

Leave a Reply