काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ । सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले चुनाव कुनैपनि दलको योजनाअनुसार नभई वर्तमान परिस्थितिको बाध्यता भएको स्पष्ट पार्नुभयो । उहाँले संविधानलाई लयमा फर्काउन निर्वाचन अपरिहार्य रहेको दोहो¥याउँदै परिणामको चिन्ता नगरी चुनावलाई सफल बनाउन पार्टी लागिपरेको पनि बताउनुभयो । उहाँले केही तत्वहरुले निर्वाचनका विषयमा विभिन्न संशय सिर्जना गर्न खोजेको आरोप पनि लगाउनु भयो । निर्वाचनका बारेमा सिर्जना गरिएका सबै भ्रमहरु चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
उहाँले फागुन २१ को निर्वाचनलाई भदौ २३ र २४ का घटनासँग जोड्दै ती घटनाकै परिणामस्वरूप वर्तमान अवस्था सिर्जना भएको दाबी गर्नुभयो । अगामी वर्षहरुमा गत भदौको जस्तो आन्दोलन नहोस् भन्ने योजनासहति काँग्रेस जनतासामु गएको जिकिर गर्दै उहाँले अब कुनैपनि प्रकारको आन्दोलन र विध्वंश हुन नदिने प्रतिज्ञा दोहोर्याउनुभयो । उहाँले नेपाली काँग्रेसले जेन्जी आन्दोलनको अपनत्व लिइसकेको समेत जिकिर गर्नुभयो ।





