काठमाडाैं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदानको ७ दिन अघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ (मदिरा) विक्री–वितरण तथा सेवनमा पूर्ण रूपमा प्रतिवन्ध लगाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिसमा आयोगले उक्त निर्णय गरेको हो ।
आयोगले निर्वाचनको ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाकाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय समेत गरेको छ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा वस्तुस्थितिको सुक्ष्म आँकलन गर्दै यस्तो सिफारिस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो । मदिरा सेवनका कारण हुनसक्ने सम्भावित झडप र अशान्तिलाई रोक्न यो कदम चालिएको उहाँको भनाइ छ ।
प्रवक्ता भट्टराईका अनुसार आयोगले फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अवधि (मौन अवधि) लागू गर्ने जनाएको छ । साथै, फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, खानेपानी, विद्युत आदि) र पास प्राप्त बाहेकका सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको बताउनु भयो ।
यसैबीच, केही प्राध्यापक, शिक्षक तथा कर्मचारीहरू राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको उजुरी परेपछि आयोगले त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । शिक्षा ऐन र निर्वाचन आचारसंहिताविपरीत दलको प्रचारमा हिँड्ने कर्मचारीलाई पदबाटै हटाउनेसम्मको कारबाही हुने प्रवक्ता भट्टराईले बताउनु भयो । शिक्षा ऐन, २०२८ र निर्वाचन आचारसंहिता, २०८२ ले विद्यालय वा विश्वविद्यालयमा संवद्ध कर्मचारी र शिक्षकलाई कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न, सवारीसाधन वा भवन प्रयोग गर्न दिन पूर्ण रूपमा रोक लगाएको छ । दलको कार्यकारिणी समितिमा रहेको पाइएमा पदबाटै हटाइनेसम्मको कानूनी व्यवस्था रहेको आयोगले स्मरण गराएको छ ।





