काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीहरुलाई विदेशमा समेत सेवा विस्तार गर्न दिन माग गर्नुभएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उहाँले नीतिगत सुधार गरी विदेशमा व्यवसाय विस्तार गर्ने वातावरण बनाउन माग गर्नुभएको हो ।
उहाँले बीमा कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने वातावरण बनाउन पनि बीमा प्राधिकरणसँग आग्रह गर्नुभयो । उहाँले नेपालका नियामक निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डहरु परम्परागत नीतिका कारण अझै सञ्चालन भइरहेको उल्लेख गर्नुभयो । पुराना नीतिकै कारण बैंक तथा वित्तीय क्षेत्रले आफ्नो व्यवसाय अपेक्षित रूपमा विस्तार गर्न नसकेको उहाँको भनाइ छ ।
अध्यक्ष ढकालले वित्तीय रूपमा सक्षम हुँदाहुँदै पनि पुराना नीतिका कारण व्यवसायिक गतिविधि विस्तारमा अवरोध आएको बताउनुभयो । उहाँकाअनुसार बीमा कम्पनी तथा समग्र बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ । व्यवसायिक संस्थालाई नाफामुखी र गलत मनसाय राख्ने दृष्टिले मात्र हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कुनै एक व्यक्तिको गलत कार्यलाई आधार बनाएर सम्पूर्ण संस्थालाई दोषी ठहर गर्ने प्रवृत्ति गलत भएको उहाँको तर्क छ ।
अध्यक्ष ढकालले आर्थिक गतिविधिको विस्तारले रोजगारी सिर्जना र राजस्व वृद्धिमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । उहाँले आर्थिक गतिविधिलाई चलायमान बनाउनको लागि कानून तथा नीतिमा सुधार गर्न आवश्यक रहेको दोहो¥याउनुभयो । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बिहीवार आफ्नै नवनिर्मित भवनको उद्घाटन गरी सेवा सुभारम्भ गरेको छ ।





