एजेन्सी । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई विद्रोह (इन्सररेक्सन) को मुद्दामा आजीवन कारावासको सजाय सुनाइएकोमा विशेष अभियोजक (स्पेसल काउन्सेल) ले बुधवार उच्च अदालतमा अपील दायर गर्नुभएको छ । यो अपील युनलाई दिइएको सजाय तथा अदालतको तथ्यगत निष्कर्ष र कानुनी व्याख्यामा चासो व्यक्त गर्दै गरिएको हो । विशेष अभियोजकले यो अपीलले दोषी ठहरिएका सबै व्यक्तिहरूको दोष र सजाय दुवैलाई समेटेको बताएका छन् ।
अभियोजन पक्षकाअनुसार युन तथा अन्य अभियुक्तहरूले सन् २०२४ डिसेम्बरमा छोटो समयका लागि घोषणा गरिएको मार्सल ल (सैन्य शासन) मार्फत संवैधानिक व्यवस्थालाई कमजोर पार्ने प्रयास गरेका थिए । युनलाई अभियोजन पक्षले यो घटनाको मुख्य योजनाकारको रूपमा चिनाएको छ ।
सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले उनलाई यसअघि आजीवन कारावासको सजाय सुनाएको थियो । विशेष अभियोजकले आरोपको गम्भीरता र देशको लोकतान्त्रिक प्रणालीमा परेको प्रभावलाई ध्यानमा राख्दै उच्च अदालतबाट थप न्यायिक समीक्षा आवश्यक रहेको तर्क गरेका छन् । युनमाथि युद्ध, आक्रमण वा त्यस्तै राष्ट्रिय संकट नभई असंवैधानिक रूपमा आपतकालीन मार्सल ल घोषणा गरेको, राष्ट्रिय सभाको मार्सल ल हटाउने प्रस्तावलाई रोक्न मार्सल ल फौज र प्रहरी परिचालन गरेको तथा मुख्य राजनीतिक दलका नेता तथा संसद् सभामुख जस्ता व्यक्तिहरूलाई हिरासतमा राख्ने प्रयास गरेको आरोप लागेको छ ।
युनले २०२४ डिसेम्बर ३ तारिख राति मार्सल ल घोषणा गरेका थिए । तर केही घण्टामै राष्ट्रिय सभाले त्यसलाई खारेज गरिदिएको थियो । संवैधानिक अदालतले २०२५ अप्रिलमा युनविरुद्ध महाअभियोगको प्रश्तावलाई सदर गर्दै उनलाई पदबाट हटाएको थियो । २०२५ जनवरीमा युनलाई विद्रोहको मुख्य योजनाकारको रूपमा हिरासतमा राखेर अभियोग लगाइएको थियो । जसले उनलाई इतिहासमा पहिलो पटक पदमा रहँदा पक्राउ परेका तथा अभियोग लागेका राष्ट्रपति बनाएको थियो ।
यो घटनाले दक्षिण कोरियाको लोकतन्त्रमा ठूलो संकट सिर्जना गरेको थियो । तर राष्ट्रिय सभाको तत्काल कदमले मार्सल ललाई छोटो समयमै अन्त्य गरिदिएको थियो ।





