काठमाडाैं । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आगामी आवधिक निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वासिलो ढंगले सम्पन्न गर्न सञ्चार माध्यमको भूमिका निर्णायक हुने बताउनुभएको छ । आयोगद्वारा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उहाँले आम नागरिकलाई सही, तथ्यपरक र तटस्थ सूचना प्रवाह गरी मतदानको सही सदुपयोग गर्ने वातावरण निर्माण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभएको हो ।
सचिव राउतले सञ्चार माध्यमलाई लोकतन्त्रको ‘कर्नर स्टोन’ र राज्यको चौथो अङ्गको रूपमा उल्लेख गर्दै निर्वाचनका बेला हुने विभिन्न बहस र डिस्कोर्सहरूलाई प्रभाव पार्ने मुख्य माध्यम नै मिडिया भएको बताउनुभयो । उहाँले मिडियाले प्रवाह गर्ने निष्पक्ष र तटस्थ सूचनाले नै निर्वाचनको वास्तविक विश्वसनीयता कायम गर्ने र मतदातालाई सक्षम बनाउनेमा जोड दिनुभयो ।
नेपालको संवैधानिक र कानूनी व्यवस्थाअनुसार हुन लागेको यस आवधिक निर्वाचनमार्फत सङ्घीय संसदको प्रतिनिधि सभाका लागि १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक गरी कूल २ सय ७५ जनप्रतिनिधिहरू छनौट हुन लागेको जानकारी उहाँले दिनुभयो । उहाँले यस प्रक्रियालाई देशको भावी भाग्य, विकास र समृद्धिको निर्माण गर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा चित्रण गर्नुभयो ।
निर्वाचनले शासन प्रणालीलाई वैधता प्रदान गर्ने उल्लेख गर्दै सचिव राउतले वर्तमान विशिष्ट परिस्थितिमा रहेका समस्याहरू समाधान गर्न सही प्रतिनिधि छनौट गर्नु अनिवार्य रहेको बताउनुभयो । आगामी दुई–तीन साताकाे समय निर्वाचनको तयारीका लागि निकै महत्वपूर्ण रहेको भन्दै उहाँले आम मानिसलाई सुसूचित गराउन निर्वाचन आयोगले मिडियाबाट ठूलो सहयोगको अपेक्षा राखेको स्पष्ट पार्नुभयो





