काठमाडौं । वायु प्रदूषणमा विश्वको आठौं स्थानमा रहेको नेपालको राजधानी काठमाडौंको एक स्थानबाहेक सबैको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अस्वस्थकर देखिएको छ । राजधानीको १८ स्थानमा वायु प्रदूषण मापन यन्त्रको सूचकांकमा टेकुबाहेक सबै अस्वस्थ देखिएको छ । स्वस्थकर हुन एयर क्वालिटी इन्डेक्स (एक्यूआई) शून्यदेखि ५० हुनुपर्छ ।
कामपाले त्यसलाई हरियो रङको प्रतीक मानेको छ । टेकुको वायु प्रदूषण सूचकांक ४५ देखिएको छ । यो स्वस्थकर हो । तीबाहेक सबै स्थानमा अस्वस्थकर छ ।
कामपा वातावरण व्यवस्थापन विभागले राजधानीमा जडान गरेको वायु गुणस्तर निगरानी बोर्डमा वायु प्रदूषणको अवस्थाबारे उल्लेख गरेको छ । बोर्डमा कलंकी र चाबहिलको अवस्था देखाएको छैन । राजधानीमा वायु प्रदूषण बढेपछि कामपाले जथाभावी आगो नबाल्न आग्रह गरिरहेको छ ।
कामपाले स्वयम्भूस्थित १५ वडा कार्यालय, बालाजु बाइसधारा, डल्लु, थापाथली, क्षेत्रपाटी, नयाँ बसपार्क र जडीबुटीमा उपकरण जडान गरेको छ । त्यस्तै, कोरक्षेत्रको असनचोक, कमलादी, बौद्ध, पुरानो बानेश्वर, शान्तिनगर वडा कार्यालय, चाबहिल चोक, लैनचौर, हाँडीगाउँ र रत्नपार्कमा एक्यूआई परीक्षण यन्त्र जडान गरेको थियो । नेपाल समाचारपत्रले साँझ ५ बजे वायु गुणस्तर सूचकांक अध्ययन गर्दा सबैतिर अस्वस्थकर वायु भएको पाइएको थियो ।
एक्यूआईको रिपोर्टअनुसार ५१ देखि १०० लाई मध्यमस्तर मानिन्छ । कामपाले त्यसलाई पहेँलो रङको प्रतीक जनाएको छ । महानगरको टेकुबाहेक सबै क्षेत्रमा अस्वस्थकर देखिएको छ । अर्थात् ती स्थानमा रातो संकेत देखाएको छ । कामपाभित्र सबै स्थानमा १६० माथि देखिएको छ ।
वातावरणविद्का अनुसार २०० देखि ३०० धेरै अस्वस्थ अर्थात् सबै व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने र ३०१ देखि ५०० सम्म अति खतरनाक सबै मानिसमा स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने उल्लेख छ । वायु प्रदूषणका कारण दम, फोक्सोका रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदयरोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलगायत संवेदनशील समूहलाई विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
रियल टाइममा मापन गर्ने स्विट्जरल्यान्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १४७ छ । विश्वको प्रदूषित सहरमध्ये काठमाडौं आठौं माथि छ । जबकि, १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ सहरमध्ये आठौं स्थानमा छ । पहिलो स्थानमा पाकिस्तानको लाहोर, बंगलादेशको राजधानी ढाका छ । लाहोरको एक्यूआई २१३ र ढाकाको २०१ छ । भारतको दिल्ली छैटौं स्थानमा छ । दिल्लीको वायु प्रदूषण १६४ र इराकको बग्दादको १६२ छ । भारतको मुम्बईको १३६ र कलकत्ताको १३४ छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । २०१ देखि ३०० सम्मको एक्यूआईलाई अति अस्वस्थ अवस्थाको वायु भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० सम्मलाई अति खतरा मानिन्छ ।





