निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई चुनावसम्बन्धी सही जानकारी गराउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अघि बढाएको छ।

आयोगले मतदातालाई आफ्नो मताधिकारप्रति सचेत गराउने र सही तरिकाले मत सङ्केत गर्न सक्षम बनाउने लक्ष्यसहित डिजिटल प्लेटफर्ममार्फत निरन्तर सचेतनामूलक सामग्री प्रसारण गरिरहेको जनाएको छ। मतदातालाई सही तथा वास्तविक सूचना उपलब्ध गराई मत बदर हुने अवस्थालाई न्यूनीकरण गर्न शिक्षा कार्यक्रम सञ्चालन गरिएको आयोगको भनाइ छ।

डिजिटल माध्यममा भइरहेको मतदाता शिक्षालाई वडास्तरसम्म विस्तार गर्ने उद्देश्यले आयोगले यही माघ १९ गतेदेखि विशेष मतदाता शिक्षा कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो। स्वीकृत कार्यक्रमअनुसार हरेक पालिकाका प्रत्येक वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिनेछ।

आयोगका अनुसार प्रभावकारी मतदाता शिक्षाबाट मतदाताको मतदान प्रक्रिया, मत सङ्केतबारेको बुझाइ अभिवृद्धि हुनुका साथै मिथ्या सूचना पहिचान गर्ने क्षमता पनि विकास हुनेछ। यसले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोगले विश्वास लिएको छ।

प्रतिनिधि सभा सदस्य चयनका लागि आगामी फागुन २१ गते निर्वाचन हुने तय भएको छ। निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १ सय ६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत १ सय १० जना गरी कुल २ सय ७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ।

Leave a Reply