काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्ती पोखरेलले अवरुद्ध विकास निर्माणका कामहरु पूरा गरेरै छोड्ने दृढ प्रतिवद्धता व्यक्त गर्नुभएको छ । चुनावी घरदैलोका क्रममा स्थानीयको समर्थन पाएपछि उम्मेदवार पोखरेलले यसपटकको जित देशकै जित हुने बताउँदै ‘हलो’ चिन्हमा मतदान गर्न अपिल गर्नुभएको हो ।
उहाँले स्थानीय युवा क्लव र विकास निर्माणका कामहरु अघि बढाउने बताउनुभयो । घरदैलो कार्यक्रमका क्रममा स्थानीय युवा क्लवका सदस्यहरूसँगको भेटमा पोखरेलले विगतमा आफूलाई अदृश्य रूपमा सहयोग गरिरहेका युवाहरू अहिले प्रत्यक्ष रूपमा साथ दिन सडकमा आएको देख्दा खुशीले आँसु झरेको बताउनुभयो । पोखरेलले आफ्नो क्षेत्रमा विकास निर्माणका काममा भएको अवरोधप्रति आक्रोश व्यक्त गर्नुभयो ।
उहाँले क्लव बनाउनका लागि निर्माण सामग्री झारिसकेको अवस्थामा पनि ‘अत्याचारपूर्वक’ काम रोकिएको बताउनुभयो । उहाँले जित वा हारभन्दा माथि उठेर जनताको सेवामा लागिरहने प्रतिवद्धता जनाउनुभयो । राप्रपाको चुनाव चिन्ह ‘हलो’ को धार्मिक र सांस्कृतिक महत्वलाई जोड्दै पोखरेलले माता सीताको उदाहरण दिनुभयो । जसरी हलो जोत्दा सीता माताको उत्पत्ति भएको थियो, त्यसरी नै काठमाडौं क्षेत्र नम्बर २ बाट हलोले जित हासिल गर्ने उहाँको दाबी छ । उहाँले यसपटकको जितलाई व्यक्तिगत नभई समग्र देश र व्यवस्था परिवर्तनको जितको रूपमा उल्लेख गर्नुभयो ।
नेतृ पोखरेलले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई ‘भावी प्रधानमन्त्री’ को रूपमा चित्रण गर्दै देश बनाउन राप्रपालाई जिताउनुपर्नेमा जोड दिनुभयो । उहाँले विगत तीन वर्षमा चुनाव हारेर पनि जनताका माझ गरेका वाचाहरू पूरा गरेको स्मरण गर्नुभयो ।





