काठमाडाैं । नेपाली मुक्तक साहित्यको पुस्तक ‘दोस्रो विजयोपहार तथा मुक्ताकाशका सितरा’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच मुक्तक साहित्यकार उषा शेरचन, काठमाडौ महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोल लगायत विशिष्ट व्यक्तिहरुले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।
पुस्तकको लोकार्पाण गर्दै साहित्यकार उषा शेरचनले नेपाली मुक्तक साहित्यको यात्रामा आजको दिन ऐतिहासिक भएको बताउनुभयो । उहाँले शब्दलाई शाहस, भावनालाई आवाज र अनुभुतिलाई अभिव्यक्तिमा रूपान्तरण गर्दै आएका नारी स्रष्टाहरूको सामुहिक उपस्थितिले मुक्तक आकाश अझ उज्यालो थपेको उल्लेख गर्नुभयो ।
देश तथा विदेशमा रहेर निरन्तर मुक्तक साधनामा लागिरहेका २ सय नारी मुक्तककारका ६ सय मुक्तक समेटिएको ‘मुक्ताकाशका सितरा’ केवल संयुक्त सङ्ग्रह मात्र नभई नारी चेतना, आत्मविश्वास र सिर्जनशील शक्तिको दस्तावेज भएको उहाँको भनाई छ । यी दुवै कृतिको प्रकाशनले नेपाली मुक्तक साहित्यलाई थप उचाइमा पुर्याउने उनको विश्वास छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले साहित्यिक गतिविधिका लागि वडाबाट निरन्तर सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले यस वर्ष पनि वडाले केही बजेट विनियोजन गरिएको उल्लेख गर्दै आगामी वर्षदेखि वार्षिक ५ लाख रुपैयाँ निरन्तर आउने गरी बजेट व्यवस्था गरिने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले नेपाली मुक्तक साहित्यमा नयाँ कृतिले थप योगदान पु¥याउने बताउनुभएको छ । नेपाली मुक्तक साहित्यमा नारी स्रष्टाहरूको योगदान र उपस्थितिलाई अझ सशक्त बनाउनुपर्नेमा उहाँहरुको जोड थियो ।





