काठमाडाैं । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म कूल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सकिएको छ ।
मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा भैरहेको छ । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सकिएको छ । त्यसैगरी, दैलेख, सुर्खेतको, रुकुमपश्चिम, बाजुरा, अछाम, कैलाली, झापा र सुनसरीको केही क्षेत्रका प्रत्यक्षतर्फको मतपत्र छपाइको काम पनि सकिएको छ । नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २ सय वटा छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ ।
समानुपातिकतर्फको २ करोड ८ लाख ३० मतपत्र छपाइ सम्पन्न भइसकेको छ । यसैबीच आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट वास्तविक मतपत्रको नमूना सार्वजनिक गर्न सुरु गरेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेका कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा जस्ता केही जिल्लाको वास्तविक मतपत्रको नमूनासमेत सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र रहेका छन् भने अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन्। ती सबै निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरिएको छ । त्यसैगरी, आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको नमूना मतपत्र तयार पारेर निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको छ ।





