शहीदको बलिदान र आजको जिम्मेवारी | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

शहीदको बलिदान र आजको जिम्मेवारी

शहीद दिवसले हामीलाई देश र जनअधिकारका लागि जीवन उत्सर्ग गर्ने महान् सपूतहरूको त्याग सम्झाउँछ । लखन थापादेखि चार शहीदसम्मको बलिदानले नेपाली जनताको चेतना र प्रजातन्त्रको आधार तयार गर्यो । तर पछिल्ला दिनमा शहीद घोषणाको अव्यवस्थित परिपाटीले वास्तविक शहीदको गरिमामाथि प्रश्न उठाएको छ ।

देशको सार्वभौमसत्ता, स्वतन्त्रता र जनअधिकारका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सपुतहरूको सम्झनामा शहीद दिवस मनाइन्छ । नेपाली इतिहासमा जनअधिकारका लागि शाहदत प्राप्त गर्ने प्रथम शहीदका रूपमा लखन थापालाई मानिन्छ । उनको त्याग र बलिदानले नेपालमा अन्याय र दमनविरुद्ध चेतनाको पहिलो ज्योति बाल्यो । त्यसपछिका कालखण्डमा प्रजातन्त्र, स्वतन्त्रता र नागरिक हकको स्थापनाका लागि थुप्रै वीर सपूतहरूले आफ्नो जीवन आहुति दिए, जसको स्मरण गर्नु शहीद दिवसको मूल सार हो ।

लखन थापाको विद्रोह कुनै व्यक्तिगत स्वार्थका लागि थिएन । त्यो तत्कालीन निरंकुश शासनविरुद्ध जनताको आवाज थियो । उनले देखाएको साहसले राणा शासनको कठोरताभित्र पनि प्रतिरोध सम्भव छ भन्ने सन्देश दियो । यद्यपि उनको संघर्ष तत्काल सफल हुन सकेन, तर त्यसले भावी आन्दोलनहरूको जग तयार ग¥यो । लखन थापाको शाहदतले नेपाली जनमानसमा अधिकारका लागि लड्नुपर्ने चेतना रोप्यो, जुन चेतना पछि गएर संगठित आन्दोलनमा रूपान्तरित भयो ।

त्यही चेतनाको निरन्तरताका रूपमा २००७ साल अगाडिको राणा शासनविरुद्धको संघर्षमा चार महान् शहीद शुक्रराज जोशी, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्द उदाए । यी चारै जना शिक्षित, सचेत र साहसी थिए । उनीहरूले प्रजातन्त्रको सपना बोकेर निरंकुश शासनको सामना गरे । उनीहरूको विचार, भाषण र संगठनले जनतालाई जागरुक बनायो, जसका कारण राणा शासन उनीहरूलाई आफ्नो अस्तित्वका लागि खतरा ठान्न बाध्य भयो ।

यी चार शहीदलाई क्रूरतापूर्वक मृत्युदण्ड दिइयो, तर उनीहरूको मृत्युले आन्दोलनलाई दबाउन सकेन । बरु, जनताको आक्रोश अझ तीव्र बन्यो । उनीहरूको बलिदानले २००७ सालको प्रजातान्त्रिक आन्दोलनलाई निर्णायक दिशातर्फ डो¥यायो । त्यसैले शहीद सप्ताहमा उनीहरूको सम्झनामा औपचारिक रुपमा विविध कार्यक्रम गरी माघ १६ गते समापन गर्नु इतिहासप्रतिको कृतज्ञता हो ।

शहीदको अर्थ मृत्यु होइन । देशको रक्षा, स्वतन्त्रता र जनअधिकारका लागि सचेत रूपमा आफ्नो जीवन समर्पण गर्ने व्यक्तिलाई शहीद भनिन्छ । शहीद हुनु भनेको उच्च आदर्श र सामूहिक हितका लागि व्यक्तिगत जीवनभन्दा ठूलो मूल्य रोज्नु हो । यही कारणले शहीदहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन् । उनीहरूको त्यागले आज हामीले बोल्न, लेख्न र संगठित हुन पाएका छौँ ।

नेपालको इतिहासमा विभिन्न कालखण्डमा भएका आन्दोलनहरू—पञ्चायतविरुद्धको संघर्ष, २०४६ सालको जनआन्दोलन, २०६२÷६३ को दोस्रो जनआन्दोलन सबैमा शहीदहरूको योगदान अमिट छ । हरेक आन्दोलनमा शहीदहरूको रगतले लोकतन्त्रको बाटो सिँचिएको छ । शहीद दिवस विगत सम्झने दिनमात्र होइन, वर्तमानलाई आत्मसमीक्षा गर्ने र भविष्यप्रति प्रतिबद्ध हुने अवसर पनि हो ।

तर पछिल्ला वर्षहरूमा शहीद शब्दको प्रयोगमा देखिएको प्रवृत्तिले प्रश्नहरु खडा गरेको छ । झगडामा परेर मृत्यु भएका, सानातिना हुलदंगामा ज्यान गुमाएका वा दुर्घटनामा मृत्यु भएका व्यक्तिलाई समेत राज्यले १० लाख क्षतिपूर्ति दिएर शहीद घोषणा गर्ने परिपाटी बढ्दै गएको छ । यसरी सबै मृत्युहरूलाई शहीदत्वसँग जोड्दा शहीदको मूल मर्म र गरिमामाथि आँच पुगेको अनुभूति सचेत वर्गले गरेका छन् । यस किसिमको अभ्यासले वास्तविक शहीदहरूको त्यागको अवमूल्याङ्कन गरेको छ । शहीद घोषणा सहानुभूति वा दबाबका आधारमा होइन, प्रष्ट मापदण्डका आधारमा हुनुपर्छ । अन्यथा, शहीदको अवधारणा नै अर्थहीन बन्दै जान्छ । शहीद भनेको दुर्घटनाको सिकार होइन, चेतनासहितको बलिदान हो । राज्यले यस विषयमा गम्भीर भएर प्रष्ट नीति बनाउनु आजको आवश्यकता हो ।

शहीद दिवस हामीलाई जिम्मेवार नागरिक बन्न सम्झाउने दिन हो । शहीदहरूको सपना केवल स्मारक र माल्यार्पणमा सीमित नरहोस् । उनीहरूले चाहेको समानता, न्याय र लोकतन्त्र व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जली हो । शहीदको गरिमा जोगाउँदै, उनीहरूको बलिदानलाई सही अर्थमा सम्मान गर्नु नै आजको पुस्ताको ऐतिहासिक दायित्व हो ।

Leave a Reply