काठमाडाैं । फागुराम चौधरीको दुई गोलमा प्लानिङ ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा उत्कृष्ट पुनरागमन गर्दै दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले सातदोबाटो युथ क्लबमाथि ४–२ को उत्कृष्ट पुनरागमन गरेको हो ।
प्लानिङको जितमा अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका फागुरामले दुई गोल तथा एलेक्स विलेन र रोमन भुजेलले समान एक गोल गरे । सातदोबाटोका बोबिरसोह सोबिरोब र फोडे फोफानाले समान एक गोल गरेका थिए । सातदोबाटोले खेलमा अग्रता लिँदै प्लानिङ ब्वाइजमाथि दबाब बनाएको थियो । पहिलो हाफमा सातदोबाटोले पूर्ण दबाबमा राख्यो । तर, दोस्रो हाफमा भने खेल रोमाञ्चक बन्यो । कुल चार गोल पनि निस्कियो । खेलको २१औं मिनेटमा बोबिरसोहको गोलबाट सातदोबाटो युथले अग्रता लियो । अनुभवी खेलाडी जगजित श्रेष्ठको कर्नर पासमा उज्बेकिस्तानका खेलाडी बोबिरसोहले गोल गरेका हुन् ।
जारी लिगमा जगजितको लगातार यो तेस्रो असिस्ट हो । यो गोलपछि सातदोबाटोले लगातार दबाब बनायो । केही अवसर पनि सिर्जना ग¥यो । तर, गोल गर्न भने सकेन ।
पहिलो हाफको थप समयमा प्लानिङले गोल फर्काउँदै बराबरीमा ल्यायो । पेनाल्टी बक्सभित्र अनमार्क एलेक्सले गोल गोल गरे । सातदोबाटोका सुरज ज्यु ठकुरीले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै गोल गरेका हुन् । त्यो गोलसँगै पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा भने प्लानिङ ब्वाइजले सुधारिएको खेल प्रदर्शन ग¥यो । ६३औं मिनेटमा प्लानिङले गोल गर्दै पहिलोपल्ट अग्रता लियो । करिब २२ यार्ड टाढाबाट रोमनले उत्कृष्ट गोल गर्दै प्लानिङ ब्वाइजलाई अग्रता दिलाएका हुन् ।
रोमनको एकल प्रयासमा गोलसँगै प्लानिङको आत्मविश्वास बढ्यो । तर, त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । ६ मिनेटपछि नै सातदोबाटो युथले गोल फर्काउन सफल भयो । जारी लिगमा फोडेको यो लगातार तेस्रो गोल हो । ७४औं मिनेटमा प्लानिङले सामु मुर्मुको स्थानमा फागुरामलाई मैदान प्रवेश गरायो । चोटका कारण पहिलो रोजाइमा नपरेका फागुरामले आफ्नो प्रभाव छोडे र प्लानिङलाई जित दिलाए । अन्तिम ११ मिनेटमा प्लानिङ ब्वाइजले दुई गोल थप्दै उत्कृष्ट पुनरागमन जित निकाल्यो । ७९औं मिनेटमा फागुरामले गोल गर्दै प्लानिङलाई ३–२ को अग्रता दिलाए । चार मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल गरे । यससँगै प्लानिङ ब्वाइजले ४–२ को अग्रता लियो ।
त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन र प्लानिङले सातदोबाटोमाथि ४–२ को जित निकाल्यो । यससँगै चार खेलबाट प्लानिङ ब्वाइजले दोस्रो जित आत्मसात ग¥यो । प्लानिङले एक बराबरी र एक हार सामना गरेको छ । सात अंक जोड्दै प्लानिङ छैटौं स्थानमा उक्लियो । जुन शीर्षै स्थानको टोली लालीगुराँस एसोसिएसनभन्दा तीन अंकले कम हो । चार खेलमा अपराजित लालीगुराँसले पनि मंगलबार त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरीको नतिजा सामना गरेको थियो । यससँगै लालीगुराँसको विजयीयात्रा रोकियो । चार खेलबाट १० अंक जोड्दै लालीगुराँस शीर्ष स्थानमा छ । मच्छिन्द्र, एनआरटी र एपिएफले भने तीन खेलबाट ९ अंक जोडेका छन् ।





