काठमाडौं, २९ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित गराउनेको नाम बुझाउन राजनीतिक दलहरुलाई दिएको समय आज सकिंदै छ । आयोगले दिएको समय आज सकिने भएकाले दलहरु बन्दसूचिमा रहेका नामबाट आफूले पाएको सिट संख्या अनुसार उम्मेदवारको नाम छान्न व्यस्त रहेका छन् ।
एमालेले आफूले पाएको ४१ सिटमा आइतबार नै ३७ महिलासहित उम्मेदवारको नाम बुझाएकामा नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी र राजपा नेपालले आज नामावली बुझाउँदै छन् । कांग्रेसले पदाधिकारीको बैठक बसेर २० महिलासहितका उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फका १ सय १० सिटमध्ये एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ तथा राजपा र फोरमले ६\६ सिट पाएका थिए ।
दलहरुले आफूले पाएको सिटमा आयोगले तोके अनुसार समावेशी आधार मिलाएर निर्वाचित गराउने उम्मेदवारको नामावली बुझाउनुपर्छ ।दलहरुले आफूले भनेअनुसार सूचि बुझाए फागुन ५ गतेसम्म राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाउने बताएको छ ।