देशभर चिसो मौसम तीव्र बन्दै जाँदा मधेशमा शीतलहर र काठमाडौं उपत्यकामा बढ्दो चिसो तथा वायु प्रदूषणले जनजीवन प्रभावित बनेको छ । शीतलहर र प्रदूषणका कारण बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोगीको स्वास्थ्यमा गम्भीर जोखिम बढ्दै गएको छ ।
-माेहनप्रसाद मैनाली
देशभर चिसो मौसम मध्य अवस्थामा छ । चिसोका कारण जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । विशेषगरी मधेश क्षेत्रमा शीतलहरको प्रभावले सर्वसाधारणको स्वास्थ्य, दैनिक क्रियाकलाप र कृषि–उद्योगमा चुनौतिहरु थपिएका छन् । संघीय राजधानी काठमाडौं उपत्यका लगायतका पहाडी भेगमा अत्यधिक चिसो तथा वायु प्रदूषणको अवस्था उत्पन्न भएर स्वास्थ्य र जीवनस्तरमा नकारात्मक असर देखिन थालेको छ ।
शीतलहरले सर्वसाधारणको स्वास्थ्यमा मुख्य असर पारेको छ । मध्य र पूर्वी तराईका जिल्लामा रातिको तापक्रम निकै घटेको छ । चिसो हावाका कारण निमोनिया, श्वासप्रश्वासको समस्या, नशा तथा मुटुसम्बन्धी समस्याहरु देखिएका छन् । विशेषगरी बालबालिका, जेष्ठनागरिक, गर्भवती तथा दीर्घरोगीहरु अत्यधिक जोखिममा परेका छन् । मधेश क्षेत्रमा शीतलहरका कारण कतिपय स्थानमा शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।
काठमाडौं उपत्यकामा बढ्दो चिसो मौसमसँगै वायु प्रदूषणको समस्या पनि विकराल अवस्थामा पुगेको छ । वायुको गुणस्तर जोखिमका मापदण्डभन्दा तल झरेको छ । विशेषगरी बिहान र साँझको समय वायु गुणस्तर सूचकांक उच्च हुने गरेको छ, जसबाट श्वासप्रश्वास सम्बन्धी बिरामीहरु तथा संवेदनशील वर्गलाई थप समस्या भएको छ ।
वायु प्रदूषण र चिसोका कारण नशा, नाक, घाँटी र फोक्सोमा क्षति पु¥याउने तथा लामो समयसम्म प्रदूषित वायुले मुटु तथा फोक्सोको स्वास्थ्यमा दीर्घकालीन असर पु¥याउन सक्ने चिकित्सकहरुको भनाइ छ ।
चिसो मौसममा विपन्न समुदायहरु सबैभन्दा बढी प्रभावित हुन्छन् । पोषिलो खाना र स्वास्थ्य सेवामा पहुँचको कमी जस्ता कारणहरूले उनीहरुको जोखिम थप गम्भीर हुने चिकित्सकहरु बताउँछन् । सरकारले समुदाय तथा नागरिक समाजसँग मिलेर राहत, स्वास्थ्य परामर्श, सुरक्षित बासस्थान तथा न्यानो पोशाक वितरण गर्न आवश्यक छ ।
शीतलहर नियन्त्रण तथा वायु प्रदूषण न्यूनीकरणका लागि ठोस नीति, योजना र कार्यान्वयन आवश्यक छ । मधेशमा शीतलहरको पूर्वानुमान, स्थानीय सरकारमार्फत् गरिब परिवारलाई आवश्यक सामग्रीहरु वितरण, विद्यालयहरुमा स्वास्थ्य शिक्षा तथा आपतकालीन हेल्पलाइनहरुको सञ्चालन गर्नुपर्छ भने काठमाडौं उपत्यकामा प्रदूषण नियन्त्रणका लागि ग्यास, बिजुली वा क्लिन इन्धनको प्रयोग, सार्वजनिक यातायात सुधार, धुलो नियन्त्रण तथा हरियालीकरण अभियानहरु सामाजिक चेतनासहित अगाडि बढाउनुपर्छ ।
स्थानीय सरकार तथा संघीय तहले स्वास्थ्यकर्मी, स्वयंसेवक र सामाजिक संस्थाहरूसँग समन्वय गरेर सतर्कता सूचना जारी गर्नु जरुरी छ । हरेक परिवारलाई खानेकुरा तथा स्वास्थ्य परामर्श पुग्ने व्यवस्था मिलाउनु अनिवार्य छ । जेष्ठनागरिक, बालबालिका तथा जोखिममा रहेका बिरामीहरुलाई प्राथमिकतामा राख्नुपर्छ । मौसम सम्बन्धी चेतावनीलाई कडाइका साथ सार्वजनिक सञ्चार माध्यममार्फत जनतालाई निरन्तर जानकारी गराउनु पनि अत्यन्त महत्वपूर्ण हुन्छ । चिसो मौसम र प्रदूषणको असरलाई कम गर्न साझा रणनीति सिर्जना गर्नु नै दीर्घकालीन समाधानको उपाय हुनसक्छ ।





