काठमाडाैं । हामीले खाने खाद्यपदार्थहरुमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य अंगका रुपमा लिइने मुटुलाइ नै हानी गर्नसक्छ । पछिल्लो समय नेपालमा पनि खाद्य पदार्थहरुमा ट्रान्स फ्याक्ट बढी देखिन थालेको छ र मुटुलाइ नै हानी गर्नसक्ने खतरा बढेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा खासगरी औद्योगीक कच्चा पदार्थबाटै ट्रान्स फ्याक्ट बढी राखेर खाद्य पदार्थहरु बनाइने गरेको भेटिएको छ ।
त्यस्तो मात्रा खासगरी पाउरोटी, कुकिजहरुमा धेरै रहेको अनुगमनका क्रममा भेटिएको हो । विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले पप, बेकरी, बिस्कुटसहित विभिन्न प्रशोधित वस्तुहरुमा ट्रान्स फ्याक्ट बढी हुनसक्ने भएकाले यसको अनुगमनलाई बढाइएको बताउनु भयो । उहाँकाअनुसार केही दिनअघि पपको नमूना टेस्ट गरिएको थियो । त्यसमा अत्याधिक ट्रान्स फ्याक्ट देखिएकाले बजारबाटै फिर्ता लैजान कम्पनीलाई सचेत गराएको थियो । पपसहित बिस्कुटहरु लगायतमा समेत ट्रान्स फ्याक्ट अत्याधिक रहेको सम्भावना छ । त्यसमा विभागले अनुगमन बढाउँदैछ ।
नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना, २०२१–२०२५ लाई नेपालले ०७८ माघ २४ मा स्वीकृत गरेको थियो । ट्रान्सफ्याट सिमित गर्ने नीति स्वीकार्दै औद्योगिक प्रक्रियाबाट उत्पादित खानेकुरामा ट्रान्सफ्याटको मात्रा २ प्रतिशत भन्दा तल राख्ने सरकारले नीति लिएको थियो ।
उद्योगमा निर्मित र प्याक गरिएका खानेकुरामा ट्रान्स फ्याटको मात्रा २ प्रतिशत भन्दा तल हुने नीति सरकारको छ । यसलाई कार्यान्वयनमा ल्याइएको वैद्यको भनाइ छ । यो नीति औद्यिगिक रूपमा उत्पादित अस्वस्थकर चिल्लो पदार्थ लाई राष्ट्रिय खाद्य प्रणालीबाट सन् २०२३ सम्म निवारण गर्ने एउटा रणनितीक उपक्रम पनि रहेको उहाँको भनाइ छ ।
विभागकी महानिर्देशक वैद्यकाअनुसार ट्रान्स फ्याट एउटा प्राकृतिक रूपमा पाइन्छ । प्राकृतिक रूपमा पाइने ट्रान्स फ्याटलाई रुमिनेन्ट ट्रान्स–फ्याटी एसिड पनि भनिन्छ । यी ट्रान्स फ्याट रुमिनेन्ट जनावरहरू (जस्तै गाई, भेडा आदि) को पाचन प्रणालीमा रहेका ब्याक्टेरियाबाट उत्पादन हुन्छन् । यस्ता ट्रान्स फ्याट ती जनावरबाट प्राप्त हुने खाद्य पदार्थहरूमा सानो मात्रामा पाइन्छन् ।
औद्योगिक रूपमा उत्पादन गरिएका ट्रान्स फ्याटहरू भने खाद्य पदार्थहरूमा प्रयोग गरिने वनस्पति तेलको आंशिक हाइड्रोजनेसन प्रक्रियाबाट बनाइने वैद्य बताउनुहुन्छ । उहाँकाअनुसार यी ट्रान्स फ्याट प्रशोधित खाद्य पदार्थहरूमा पाइन्छन् । औद्योगिक रूपमा उत्पादन गरिएका ट्रान्स फ्याटको मात्रा प्राकृतिक रूपमा पाइने ट्रान्स फ्याटको तुलनामा सामान्यतया धेरै बढी हुन्छ ।
वैद्यकाअनुसार औद्योगिक रूपमा उत्पादन गरिएका ट्रान्स फ्याटहरू फास्ट फुड, बेक गरिएका खाद्य पदार्थहरू जस्तै पाई, बिस्कुट, पेस्ट्री, मिठा रोल, केक; बिस्कुट; तारेका खानेकुराहरूमध्ये फ्रेन्च फ्राइज, चिकन नगेट्स, केही कबाबहरू; माइक्रोवेभमा तताउन मिल्ने तयार पपकर्न; वेफर तथा अन्य बेकरी सामग्री; जमेको मिठाइ; इन्स्ट्यान्ट नुडल्स; सर्टनिङ; आंशिक रूपमा हाइड्रोजनेट गरिएका तेलहरू; केही प्रकारका मार्जारिनमा पाइन्छ ।
वैद्यका अनुसार प्रत्येक वर्ष करिब ५ लाख ४० हजार मृत्यु औद्योगिक रूपमा उत्पादन गरिएका ट्रान्स–फ्याटी एसिडको सेवनका कारण हुने गरेको अनुमान छ । भारतमा मात्र कोरोनरी हार्ट डिजिजका कारण ६० हजार भन्दा बढी मृत्यु ट्रान्स फ्याटसँग सम्बन्धित छन् । कुल क्यालोरीमा ट्रान्स फ्याटको मात्रा प्रत्येक २% ले बढ्दा, कोरोनरी हार्ट डिजिजको जोखिम २३% ले बढ्ने अध्ययनहरुले देखाएको वैद्यको भनाइ छ ।
उहाँका अनुसार ट्रान्स फ्याटको सेवनले तौल वृद्धि गराउँछ र टाइप–२ मधुमेह हुने जोखिम बढाउँछ । त्यस्तै, अत्यधिक ट्रान्स फ्याट सेवनले कुनै पनि कारणबाट हुने मृत्युको जोखिम ३४% ले र कोरोनरी हार्ट डिजिजका कारण हुने मृत्यु २८% ले बढाउँछ । ट्रान्स फ्याटले खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ भने राम्रो कोलेस्ट्रोलको मात्रा घटाउँछ ।





