काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धेरै सम्भावनाहरु भएपनि विदेश बस्नेहरुले नकरात्मकता मात्रै फैलाउने काम गरेको आरोप लगाउनुभएको छ । नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवद्र्धनका लागि “लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवद्र्धन” विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
उहाँले नेपालमा लगानीको ठुलो सम्भावना रहेको भएपनि नेपालमा अब केही सम्भावना छैन भन्ने गलत भाष्य खडा गर्न खोजिएको बताउनु भयो । नेपाल बाहिर बस्नेहरुले सामाजिक सञ्जालमा नकरात्मक भावना फैलाएको उहाँको भनाई छ । उहाँले नकरात्मकतलाई चिर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले आन्तरिक पुँजी परिचालन गरेर नेपालमा धेरै परियोजनाहरु सञ्चालन गर्न सकिने बताउनुभयो । महासंघले आन्तरिक पुँजी परिचालन गर्नकै लागि १० अरव रुपैयाँ बराबरको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेडको स्थापना गरेको पनि जानकारी दिनुभयो । कम्पनीले ईनोभेट तथा नयाँ स्टार्टअपहरुमा लगानी गर्ने बताउनुभयो । अध्यक्ष ढकालले महिलाको सहभागिता बढाउन कानुन र नीतिगत सुधार गरेको पनि बताउनुभयो ।
एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा बुधवार उच्चस्तरीय नीतिगत संवाद आयोजना गरिएको हो ।
कार्यक्रममा पर्यटन क्षेत्रमा समावेशी आर्थिक वृद्धि र महिला उद्यमशीलता प्रवद्र्धनका उपायहरूमाथि छलफल गरिएको छ । कार्यक्रममा होमस्टे, आवास सेवा, हस्तकला, खाद्य सेवा तथा समुदायमा आधारित पर्यटनजस्ता सुक्ष्म, साना तथा मझौला उद्यममार्फत महिलाहरूको उल्लेखनीय योगदान रहेको विषयमा छलफल भएको थियो ।





