काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले गत भदौ २३ र २४ गतेको जेन—जी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको बताउनुहुँदै सुशासन र निर्वाचन आफूहरुको मुख्य एजेण्डा भएको बताउनुभयो । आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको बताउनुभयो । उहाँले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन एक मात्र विकल्प भनेको निर्वाचन रहेको बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु नहुने बताउनुभयो । शान्ति खल्बल्याउने, कानून हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको पनि बताउनुभयो । खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।





