काठमाडाैं । नेपाल र भारतबीच नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल-भारत सहकार्य विषयक गोलमेच छलफल जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावास र नेपाल यंग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) का वीरगञ्ज तथा जनकपुरधाम अध्यायहरूको सहकार्यमा पीएचडीसीसीआई नेपाल-भारत सेन्टरद्वारा आयोजित यस कार्यक्रममा स्टार्टअप संस्थापकहरू, युवा उद्यमीहरू तथा एमएसएमई (साना तथा मझौला उद्यम) प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा ४० भन्दा बढी प्रतिनिधिहरू उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत देवीसहाय मिणाले नेपाल र भारतबीच नयाँ प्रविधि र स्टार्टअप क्षेत्रमा सहकार्य विस्तार गर्न यस्ता संवाद कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सूचना प्रविधि तथा आईटी सक्षम सेवामा भारतको अनुभव र क्षमता नेपाली उद्यमीहरूका लागि अत्यधिक लाभदायक हुने उल्लेख गर्नुभयो ।
यस कार्यक्रमले दुवै देशका उद्यमीहरूबीच ज्ञान आदानप्रदान, साझेदारी र लगानीका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ । नेपाल र भारतबीचको आर्थिक तथा प्राविधिक सहकार्यलाई मजबुत बनाउँदै मधेस प्रदेशलाई स्टार्टअप हबको रूपमा विकास गर्न यस्ता पहलहरूले महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।





