काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताउनुभएको छ । ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नागरिको मुहारमा खुशी ल्याउन सेवा प्रवाहमा चुस्तता र सुशासन महत्वपूर्ण पक्ष रहेको जिकिर गर्नुभयो । नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई सोहीअनुसार रुपान्तरण गर्दै लैजान जरुरी रहेको बताउनुभयो । संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले स्थानीय तह नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहले दिने सेवा र प्रदान गर्ने सुशासनले नै व्यवस्थाप्रति नागरिकको भरोसा अभिवृद्धि गर्ने बताउनुभयो । नागरिकका चाहना पूरा गर्न विशेषतः स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । लोकतन्त्र केवल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरुप काम गर्ने संस्कार र शैली भएको पनि बताउनुभयो ।
राष्ट्रपति पौडेलले जनताका गुनासा, असन्तुष्टि, माग सुन्ने र तीनलाई बुझ्न घरदैलोमा पुग्ने लोकतान्त्रिक आचरण र शैली पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगिन अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहनालाई पूरा गर्न तथा देशको वर्तमान परिस्थितिलाई निकास दिन आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन पनि आह्वान गर्नुभयो ।





